एनआरएनए अध्यक्ष भट्ट र प्राधिकरण सीईओबीच भेट «

एनआरएनए अध्यक्ष भट्ट र प्राधिकरण सीईओबीच भेट

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग भेट गरेका छन् । भेटमा अध्यक्ष भट्टले लाप्राक एकीकृत नमुना बस्ति परियोजनाको अवस्था र हालसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए ।
साथै उनले लाभग्राहीलाई घरहरु हस्तान्तरण गर्नको लागि आवश्यक कित्ताकाट प्रकिया अघि बढाउन एवं लालपूर्जा उपलव्ध गराउन अनुरोध गरे । यसका साथै अध्यक्ष भट्टले साइटको अवस्था अनुसारको परिमार्जित गुरुयोजना, गोला प्रथाबाट तोकिएको लाभग्राहीको सूची र घर नम्बर सहितको आवश्यक कागजातहरु प्रमुख कार्यकारी अधिकृतलाई हस्तान्तरण पनि गरे ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संघले निर्माण गरिरहेको एकीकृत नमूना वस्ती प्राधिकरणले सुरुदेखि नै सहकार्य तथा सहयोग गरिरहेको र यसको निरन्तरता रही रहने जानकारी दिए । साथै उनले नमुना बस्तीलाई साँच्चै नमुना बस्ती बनाउन बस्तीमा आर्थिक क्रियाकलाप बढाउने किसिमका योजना समेत संघको सहभागिताका लागि अनुरोध गरे । सो भेटभाटमा संघका मानार्थ परिषद्का सदस्य सुभाष अधिकारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्