कोरोनाको कहरमा बिदेसिनुको पीडा «

कोरोनाको कहरमा बिदेसिनुको पीडा

मानिसहरू रोजगारीको सिलसिलामा आफ्नो घर, गाउँ तथा जन्मस्थल छाडेर उपत्यका पस्ने गर्छन् । ठूला–ठूला सपना र मनमा आस बोकेर उपत्यका तथा काठमाडांै सहर पस्ने गर्छन् । किनकि काठमाडांै देशको राजधानी हुनुका साथै सपनाको सहर भनेर पनि चिनिने गरिन्छ ।
हाम्रो देश विकासोन्मुख राष्ट्र भएको हुनाले यहाँ धेरै मानिस गरिबीको रेखामुनि रहेका छन् ।
यहाँ कतिपय मानिस ठाउँ यस्ता पनि छन् जसले बिहान–बेलुकाको खाना खानसमेत पाएका हँुदैनन् भने कतिपय मानिस दिनहुँ मासुभात खाएर बसेका छन् । कसैलाई दसैं आउँदा पनि एक जोर नयाँ लुगा लगाउन, मीठो खान पनि रहर छ । नेपाल नै भए पनि यहाँ महलमा बस्नेदेखि लिएर झुपडीमा बस्ने मानिसहरूसमेत रहेका छन् ।
त्यसैले आफ्नो परिवारको आवश्यकता पूरा गर्ने हेतुले प्रत्येक दिन हजारौं मानिस विदेश पलायन हुने गर्छन् । आफूसँग सीप अनि क्षमता हुँदाहुँदै पनि कतिपय ठाउँमा लगानी तथा जोखिम वहन गर्न नसक्नाले सुनौला अवसरहरू गुमाउनुपर्ने हुन्छ । किनकि अहिले परिस्थिति पहिलेको भन्दा निकै कठिन अनि प्रतिस्पर्धात्मक भइसकेको छ ।
पहिले १० कक्षासमेत पास नगरेका व्यक्तिहरूले ठूला पदका मानिसहरूको भनसुनको भरमा सरकारी जागिरसमेत खाएका थिए । तर, अहिले त्यस्तो अवस्था छैन । आफूले मेहनत गरेर लोकसेवाको परीक्षामा नाम निकालेर मात्र जागिर खान पाइन्छ । पहिले इन्जिनियर, डाक्टर, नर्स, पाइलट तथा सीए पढेकाहरू कम मात्रामा भेटिन्थे । तर, अहिले अधिकांश व्यक्तिले ऋण गरेरै भए पनि आफ्ना सन्तानहरूलाई उच्चस्तरको शिक्षा दिने गर्छन् । त्यसैले अहिले रोजगारी पाउने ठाउँ निश्चित मात्रामा छ भने बेरोजगारको मात्रा बढी छ । त्यसैले मानिसहरू आफूसँग सीप हुँदाहुँदै पनि विदेश जाने गर्छन् । त्यसमाथि अहिले जताततै कोरोनाको कहर छ ।
आफ्नो परिवारसँगै बसौं भने नेपालमा रोजगारी पाउन मुस्किल छ । कोरोनाले गर्दा कैयौं मानिसले रोजगारी गुमाएका छन् भने कैयौं व्यवसाय बन्द भइसकेका छन् । त्यसमाथि विदेशबाट छुट्टी मनाउन आएका कतिपय मानिस आफ्नो गन्तव्यमा फर्किनसमेत पाएका छैनन् । स्वदेशमै रोजगारी पाउन नसकेपछि अन्तिम विकल्प भनेको विदेश जानु नै हो । के गर्नु, माया र मोहले खाली पेट नभरिँदो रहेछ । किनकि मानिसले जे–जति संघर्ष गर्छन्, यही भोको पेट पाल्न र आवश्यकता पूरा गर्नका लागि गर्छन् ।
जीवनको वास्तविकता पनि यही हो कि पैसालाई हेर्दा सामान्य रूपले कागजले बनेको देखिन्छ, तर यही पैसाबिना बाँच्न मुस्किल हँुदो रहेछ । त्यसैले दसैँ होस् या तिहार, जे पर्व आए पनि रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता हुन्छ । यही परिवारलाई सुखी राख्ने आसले आफ्नो जन्मभूमि छाडेर त गइन्छ, तर फर्केर आउँदा परिवारको सदस्यलाई नै गुमाउनुपर्दा, अन्तिम क्षणमा समेत आफू बस्न नपाउँदा कस्तो हुँदो होला भनेर हामी सोच्न पनि सक्दैनौं ।
यस्तै एक प्रसङ्ग, मेरो भिनाजु रोजगारीको सिलसिलामा कतारमा बसोबास गर्नुहुन्छ । पोहरको साल पनि कोरोनाले गर्दा घर आउन पाउनुभएको थिएन । त्यसैले यस वर्ष दसैंमा घर आउन बिदा मिलाइरहनुभएको थियो । तर, अचानक यस्तो अप्रिय घटना घट्यो कि उहाँकी ममतामयी आमालाई कोरोना पोजिटिभ देखिएर अक्सिजनको मात्रामा कमी आई अवस्था निकै नाजुक भएकाले अस्पतालमा आईसीयूमा भर्ना गरियो । त्यहाँ पनि सुधार नआएपछि भेन्टिलेटरमा राखियो र भिनाजुलाई अस्पतालबाट अकस्मात् चिठी बनाएर पठाई नेपाल आउन भनियो ।
तर, विधाताले लेखेको कुरालाई टार्न नसकिँदो रहेछ, भिनाजु नेपाल आउने अघिल्लो दिन नै आमाले हामी सबैलाई छाडेर जानुभयो । आमाका दुई भाइ छोरा नै विदेशमा हुनुभएकाले आफ्ना सन्तानको मुहारसमेत हेर्न नपाई देहत्याग गर्नुभयो । अब सबैतिरबाट सुख अनि समृद्धि हासिल गर्ने समयमा आमाले संसार छाड्नुभयो । यदि कोरोनाको समय नभएको भए पनि तुरुन्तै आउन मिल्थ्यो होला । विदेशको जीवन, न त सुखदुःखमा परिवारसँग बस्न पाउनु छ, न त चाहेको समयमा घर आउन पाउनु छ । त्यसैले विदेशको जीवन बिताउन सा¥है गा¥हो हुँदो रहेछ ।

प्रतिक्रिया दिनुहोस्