‘नियोजित रुपमा पुँजीबजार घटाइएको छ’ «

‘नियोजित रुपमा पुँजीबजार घटाइएको छ’


स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले सेयर बजार नियोजित रुपमा घटाइएको दाबी गरेका छन् ।
विराटनगरमा शनिबार आयोजित अन्तरक्रियामा अध्यक्ष कार्कीले स्वतन्त्र रुपमा चल्नुपर्ने सेयर बजारलाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि नियामक निकायहरूले नीतिगत परिवर्तन गरी घटाएको दाबी गरे ।
कार्कीले सेयर बजार अस्वभाविक रुपमा नियोजित तरिकाले घटाइएकाले यस्तो घटाइ धेरै दिनसम्म नरहने बताए । उनले सेयर बजार जुनसुकै बेला विष्फोटक गतिले बढ्ने भएकाले सुझबुझपूर्ण रुपमा सेयर किनबेचको निर्णय लिन लगानीकर्तालाई आग्रह गरे । “पुँजीबजारमा लाग्ने व्यक्तिहरूले घट्ने बित्तिकै आत्तिनु हुँदैन” कार्कीले भने, “यो घट्ने क्रम लामो समयसम्म टिक्दैन ।”
कार्कीले पुँजीबजारको विकासमा कर्मचारी प्रशासन, नियामक निकायहरू नै बाधक देखिएको टिप्पणी गरे । सेयर बजारको सुधारका लागि स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा आफूहरूले दबाब सिर्जना गरिरहेको कार्कीले बताए । उनले तीन–तीन महिनामा परिवर्तन हुने नीतिले सेयर बजारको विकास र विस्तारमा अवरोध गरिरहेको उल्लेख गरे ।
स्वतन्त्र पुँजीबजार संघले प्रदेश–१ मा प्रदेशस्तरीय समिति गठन गरिसकेको र झापा, मोरङ, सुनसरी र विराटनगर महानगरपालिकास्तरीय समितिसमेत गठन गरेको स्वतन्त्र पुँजीबजार संघ प्रदेश–१ का अध्यक्ष गणेश दंगालले जानकारी दिए । उनले प्रदेश–१ का सबै जिल्ला, महानगरपालिका र महानगरपालिकामा संघले समिति विस्तार गर्ने बताए । नेपालमा केही वर्षयता सेयर लगानीकर्ताको संख्या तीव्र रुपमा बढिरहेको छ ।
हाल ४६ लाख भन्दा बढी डिम्याट खाता खुलिसकेको छ । पछिल्ला प्राथमिक निष्काशनहरूमा २५ लाखभन्दा बढीले आइपीओ भर्न थालेका छन् । प्राथमिकसँगै दोस्रो बजारमा प्रवेश गर्नेहरूको संख्या पनि उत्तिकै बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्