एमाले स्थायी कमिटी बैठकका निर्णयहरू «

एमाले स्थायी कमिटी बैठकका निर्णयहरू

नेकपा एमालेले यही कात्तिक १२ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
शुक्रबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि १ सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि हामीले २०७७ साल चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेका छौं । यो कुरा आज टुंगो गरेका छौं । राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय पनि गरिएको छ । त्यो सम्बन्धमा आवश्यक्त प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको छ ।
राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य यस विषयमा आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक आगामी कात्तिक ११ गते र केन्द्रीय कमिटीको बैठक कात्तिक १२ गते बस्ने निर्णय गरिएको छ । एमालेले रामबहादुर थापा नेतृत्वको महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।
जसमा संयोजक रामबहादुर थापा बादल, सहसंयोजक सुरेन्द्र पाण्डे, विष्णु रिमाल सचिव पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा सदस्य रहनु भएको छ र एक सदस्य पछि मनोनयन गरिनेछ ।
यसरी २१ सदस्यीय मूल व्यवस्थापन समिति बनेको व्यहोरा म यहाँहरूलाई जानकारी गराउँदछु । राष्ट्रिय महाधिवेशनमा हामीले विभिन्न मुलुकका हाम्रा मित्र पार्टीहरू, भाइचारा पार्टीहरू र देशभित्रका राजनीतिक दलहरूलाई नियन्त्रणा गर्ने निर्णय पनि गरेका छौं ।’
बैठकले १० बुँदे सहमती आमरूपमा कार्यान्वयन भएको निष्कर्ष निकाल्दै कार्यान्वयन हुन बाँकी रहेका ठाउँहरूमा आगामी केन्द्रीय कमिटीको बैठकसम्म कार्यान्वयन गरिसक्न पनि सम्बन्धित कार्य दललाई निर्देशन दिएको छ ।
त्यसैगरी रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रिय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता ज्ञवालीले भन्नु भयो, ‘महाधिवेशनसम्बन्धी यी निर्णयहरूका अतिरिक्त आजको बैठकले १० बुँदे प्रस्तावको कार्यान्वयनको सिलसिलामा सो प्रस्ताव आमरुपमा कार्यान्वयन हुँदै गएको आमरूपमा यो कार्यान्वयन भएको तर एकाध ठाउँमा समस्या रहेको हुँदा ती कार्यान्वयन हुन बाँकी रहेका ठाउँमा केन्द्रीय कमिटीको आगामी बैठकसम्ममा यसलाई पूर्णरूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
तदअनुरुप सम्बन्धित कमरेडहरूलाई यससम्बन्धी निर्देशन दिने कामहरू पनि भएको छ । र, आजको बैठकले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समिरलाई पार्टी केन्द्रीय सदस्यको रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ । साथसाथै बैठकले अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएका पार्टीका सचिव योगेश भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ भने हालै दिवंगत हुनुभएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।’
बैठकले बिरामी भई अस्पताल भर्ना हुनुभएका पार्टीका सचिव योगेश भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र हालै दिवंगत हुुनुभएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको एमालेले जनाएको छ ।
यसैबीच, नेकपा एमालेका उपाध्यक्ष भिम रावलले १० बूँदे सहमति कार्यान्वयन गर्नका लागि गठित कार्यदलबाट राजीनामा दिएका छन । कार्यदलको सदस्य समेत नरहने गरी राजीनामा दिने घोषणा गरेको उनले बताए । उपाध्यक्ष रावलले पार्टीको विधि, प्रक्रिया र निर्णय विपरित दुई जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेकोमा पनि फरक मत राख्नु भएको छ ।
उनले भने, ‘कार्यदलमाथि नै प्रश्न उठने गरी कुराकानी भएकाले मैले कार्यदलको संयोजक र त्यसको सदस्य समेत नरहने गरी राजीनामा दिने त्यहीँ घोषणा गरेको छु । र, म यो राजीनामा सम्बन्धमा मैले बैठकमा के पनि भनेको छु भने म व्यवस्थित रूपमा भोलि राजीनामा पठाउँछु भनेर जानकारी पनि गराएको छु । त्यसको साथसाथै जुन हाम्रो १० बुँदे सहमति थियो, अपानी १२ थियो । त्यो अपानी १२ ले १० प्रतिशत केन्द्रीय सदस्यहरूको मनोनयन गर्ने र तत्सम्बन्धमा कार्य दलले गृहकार्य गर्ने भनेर निर्णय गरेको थियो र त्यो पार्टी व्यापीरूपमा जुन निर्देशन जारी गरेको थियो ।
त्यतातर्फ कुनै ध्यान नदिने तर उनले २ जना केन्द्रीय सदस्य मनोनयन गर्ने प्रभु साहजीको समस्या समाधान गर्ने भन्ने कुरा ल्याउनु भएकाले त्यसप्रति पनि मेरा विमति छ । पार्टीको अपानी पद्धति, प्रक्रिया र निर्णय विपरित भएकाले आफूले फरक मत राखेका हुँ ।’

प्रतिक्रिया दिनुहोस्