विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने «

विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।
शुक्रबार च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यावसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जसीमा ए डिभिजन लिग खेल्ने भएका हुन् । विकासले च्यासलसँग एक वर्षका लागि सम्झौता गरेका हुन् ।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट आयोजना हुँदैछ । च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउने छन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए ।
१८ वर्षीय विकासले इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । यस्तै विकासले भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन । सन् २००८ मा ६ वर्षको उमेरमा इटाली पुगेका विकास १३ वर्षपछि नेपाल लिग खेल्न नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्