साढे २ करोड धरौटीमा छुटे गोपाल खड्का «

साढे २ करोड धरौटीमा छुटे गोपाल खड्का

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का साढे २ करोड रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सार्वजनिक पदको दुरूपयोग गरी १८ करोड ६६ लाख रूपैयाँ बराबर भ्रष्टाचार गरेको आरोप लागेका खड्का २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटेका हुन् । नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा खड्का छुटेका हुन् ।
विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशक खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको थियो ।
अख्तियारको अनुसन्धानमा खड्काले अवैधरूपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरिएको छ । खड्काको १८ करोड ६६ लाख रूपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद, बिगो र सोही बमोजिमको जरिवाना भराउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्