बेमौसमी प्राकृतिक विपत्तिमा १११ को मृत्यु, ३३ जाना बेपत्ता

मौसम बाहिएिरपछि गत कात्तिक एक गतेदेखि परेको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ र बेपत्ता हुनेको संख्या ३३ पुगेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि भएको हो ।
केन्द्रका अनुसार प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एक जना गरी जम्मा १११ जनाको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एक÷एक जना बेपत्ता भएका छन् । प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।
जलवायु परिवर्तनका कारण मनसुन बाहिरिए पनि बेमौसमी वर्षाका कारण बाढी पहिरो लगायत प्राकृतिक विपत्ती निम्तिएको हो । वर्षाका कारण ७ अर्बभन्दा बढिको धान नोक्सानी भएको अनुमान गरिएको छ । सडक अवरुद्ध, जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले पछिल्लो समय जलवायु परिवर्तनका कारण अकल्पनिय घटना भएको भन्दै यसको क्षतिको एकिन विवरण नआएकाले अध्ययन भइरहेको छ । “बेमौसमी वर्षाका कारण १ सय ११ जानाको मृत्यु भएको छ, यो अकल्पनिय घटना भयो,” उनले भने, “पिडितलाई तत्काल राहत दिन पहल भइरहेको छ ।”