वीरगन्ज महानगरपालिकाको लामखुट्टे नियन्त्रण अभियान «

वीरगन्ज महानगरपालिकाको लामखुट्टे नियन्त्रण अभियान


जाडो मौसम सुरु भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टेको संख्यामा वृद्धि भएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रण अभियान सुरु गरेको छ । ढलनाला तथा खाल्डाखाल्डीमा लामखुट्टेले अण्डा पार्ने र त्यसबाट लार्भा विकसित भई लामखुट्टेको संख्यामा वृद्धि हुन थालेपछि ढलनालामा रहेको लार्भा मार्न ब्लिचिङ पाउडर छर्ने अभियान सुरु गरेको हो ।
वीरगन्ज महानगरपालिकाले कात्तिक २ गतेदेखि नै लार्भा मार्ने अभियान सुरु गरेको सरसफाइ व्यावस्थापन शाखाका अधिकृत सर्फुद्दिन मियाँले जानकारी दिए । वीरगन्ज महानगरपालिकामा लामखुट्टेको संख्या बढेर नगरवासीलाई सास्ती भएको गुनासो आएपछि महानगर प्रमुख विजय कुमार सरावगीले यसको नियन्त्रणका लागि तत्काल विषादी छर्न निर्देशन दिएको बताए । महानगर प्रमुख सरावगीको आदेशअनुसार महानगरपालिकाले कार्तिक २ गतेदेखि नै अभियान सुरु गरेको हो सरसफाई अधिकृत मियाँले बताए ।
उनका अनुसार कात्तिक २ गतेदेखि सुरु भएको हो । कार्तिक २ गते महानगरपालिकाको वडा नम्बर १ र ३, कात्तिक ३ गते वडा नम्बर २ र ४, कात्तिक ४ गते वडा नम्बर ५ र ७, कात्तिक ५ गते वडा नम्बर ६ र ८, कात्तिक ६ गते वडा नम्बर ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको उनले बताए । आईतबार वडा नम्बर १० ब्लिचिङ पाउडर छर्ने कार्यक्रम छ ।
यसरी दैनिक रूपमा महानगरपालिकाको ३२ वटै वडामा नाला र खाल्डाखुल्डीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर गरिने र चाँडै हावामा पनि स्प्रे गर्ने तयारी रहेको सरसफाइ अधिकृत मियाँले बताए ।

प्रतिक्रिया दिनुहोस्