असोजमा श्रमस्वीकृति लिने संख्या १८ महिनायताकै उच्च «

असोजमा श्रमस्वीकृति लिने संख्या १८ महिनायताकै उच्च


कोरोना संक्रमणदर घट्दै गएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने श्रमिकको संख्या असोजमा सबै भन्दा धेरै भएको छ ।
२ वर्ष करिब बन्द रहेको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको असोजको तथ्यांकले पुनः विस्तारै बढ्न थालेको हो । कोरोना संक्रमणअघि मासिक ४० हजारको हाराहारीमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने श्रमिकको संख्या हुने गरेकोमा असोज महिनामा पनि ४० हजार पुगेको छ ।
वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलले असोजको अन्तिम हप्तासम्म वैदेशिक रोजगारीमा ३६ हजार पुरुष र ४ हजार महिलाले श्रमस्वीकृति लिएको जनाएको छ । विभाग काठमाडौं कार्यालय ताहाचलका प्रवक्ता राजेश उप्रेतीले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको कारोबारलाई बताए ।
कोरोना संक्रमण अघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । चालु आर्थिक वर्षको असोजमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या बिगतको सामान्य अवस्थामा जस्तै पुगेको छ ।
चालु आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ४१ हजार ८२८ पुगेको थियो । तर असोज एक महिनामै साउन र भदौमा लिएको श्रमस्वीकृति संख्या भन्दा नाघेको छ । यसैगरी गत वर्षको असोजमा श्रमस्वीकृति लिनेको ८ हजार ९७ रहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा २५ हजार ४२८ र भदौको तेस्रो हप्तासम्म १६ हजार ४०० र असोजमा ४० हजारले श्रमस्वीकृति लिएका छन् । यो संख्या गत आर्थिक वर्षको सुरुको ३ महिनाको दोब्बर बढी हो ।
प्रवक्ता उप्रेतीले पछिल्लो कोरोना संक्रमणदरमा कमी आएपछि समय वैदेशिक रोजगारी जान श्रमस्वीकृति लिनेको संख्या बढेको बताए । उनका अनुसार राजधानीसहित देशभरका ७ श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था गरेका कारण श्रमिकलाई सेवा लिन सहज भएको बताए ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जान थालेपछि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ वैदेशिक रोजगारी जाने प्रवृत्ति ३ वर्ष अघिको जस्तो नभएपनि खोप व्यवस्थापनका कारण जाने बढेका बताए ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार बिगत ३ वर्षमा घटेको देखिएपनि अबका दिनमा भने यसले गति लिने विज्ञहरुको अनुमान छ । बिगत ३ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमश घटदो दर रहेको पाइएको थियो । प्रमुख स्रोत गन्तवय खाडी राष्ट्रमा आएको कोरोना संकट र आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो । संघका पूर्वअध्यक्ष गुरुङले कोरोना संकटले रोजगारीको दर घट्दै गएको देखिएपनि लयमा आउन केही समय लाग्ने बताए ।
विगत ३ आर्थिक वर्षमा प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमान भने सबैभन्दा बढी घटेको थियो । कतार, साउदी अरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको थियो । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या १ लाख ६६ हजार ३०५ मा सीमित भएको छ ।
३ वर्षअघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो । विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आएपनि रेमिट्यान्स भने घटेको छैन । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख ३ देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा २ लाख ५७ हजार भन्दा कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्