स्रोतसाधन र क्षमताले भ्याएसम्म काम गरेका छौं «

स्रोतसाधन र क्षमताले भ्याएसम्म काम गरेका छौं

प्रदेश : १
जिल्ला : धनकुटा
पालिका : सहिदभूमि गाउँपालिका
अध्यक्ष : मनोज राई
उपाध्यक्ष : रत्नश्वरी राई
प्रमुख प्रशासकीय अधिकृत : राजकुमार शाक्य
जनसंख्या (२०६८ को जनगणनाअनुसार) : १८,७६०
महिला : ९,८२९
पुरुष : ८,९३१
बसोबास : क्षत्री, बाहुन, राई, कामी, दमाईं, नेवार आदि मिश्रित

पहिलो कुरा त नेपालको राजनीतिक रूपले सहिदभूमि गाउँपालिका जति चर्चित छ, त्यसको हिसाबमा विकास भने हुन नसकेको पक्कै हो । नेपालको राजनीतिक परिवर्तनमा सहिदभूमि र यहाँका नागरिकले ठूलो बलिदान गरेका छन्, तर त्यसअनुरूपको विकास भने परिवर्तनपछि आएका सरकारले गर्न नसकेको कुरा यथार्थ हो ।
अब कुरा गरौं, हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि धेरै कुराहरू देखिने र यहाँका जनताले अनुभव गर्न सक्ने हिसाबले नै काम गरिरहेका छौं । कुनै पनि स्थानका जनताको चेतनास्तरले पनि त्यहाँको विकासलाई प्रभाव पार्छ । चेतनास्तर माथि उकास्नका लागि त्यहाँका जनताको शिक्षास्तर माथि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसले गर्दा हामी निर्वाचित भएर आउँदा सहिदभूमि गाउँपालिकाको साक्षरता ६७ प्रतिशत थियो । अहिले हामीले शिक्षामा गरेको लगानी र सुधारकै कारण ९० प्रतिशतभन्दा बढी यहाँका नागरिकलाई साक्षर बनाउन सफल भएका छौं । यो प्रतिशत अझै बढी होला तर कम छैन भन्ने मलाई लाग्छ ।
शिक्षाको गुणस्तरसँगै विद्यालयको भौतिक सुधारमा हामीले काम धेरै गरेका छौं । स्वास्थ्य क्षेत्रमा अहिले विश्वव्यापी महामारीकोे रूपमा रहेको कोरोना भाइरसको रोकथाम र उपचारका लागि हामीले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएका छांै । त्यस्तै गर्भवती र सुत्केरी महिलासँग उपाध्यक्ष कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौं ।
सबै वडामा आधारभूत स्वास्थ्य सेवा पु¥याएका छौं । हामी निर्वाचित भएर आउँदा सबै वडा स्वास्थ्य केन्द्रहरू थिएनन्, अहिले हामीले वर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याएका छौं । कृषि क्षेत्रलाई पनि हामीले महŒवका साथ अगाडि बढाउँदै आएका छौं । जस्तो कृषकहरूलाई अनुदान र अन्य सहयोगका कार्य गाउँपालिकाले गरिरहेको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएर फर्किएका युवाहरूलाई पनि हामीले स्वरोजगार बनाउने काम गरिरहेका छौं । पर्यटकीय क्षेत्रहरूको पहिचान र त्यसको विकासमा कामहरू भइ नै रहेका छन् ।
प्रदेश नं. १ कै धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छिन्ताङदेखि मन्दिरको विकास र प्रवद्र्धनमा समेत हामीले काम गरेका छौं ।
सडक विस्तारको कामलाई पनि हामीले उच्च महŒव दिएका छौं ।
सहिदभूमि गाउँपालिकाको गौरवको आयोजनाका रूपमा रहेको हिले छिन्ताङ त्रिवेणी उदयपुर सडक, पञ्चकन्या सेती चोक सफाइटार सडक, थलथले चाम्चा साप्तिङ्गार सडक, मूलघाट त्रिवेणी भोजपुर सडकलगायतका अन्य सडक संघीय सरकार र प्रदेश सरकारमार्फत स्तरोन्नति र कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाउने पहल गरिरहेका छौं । सुरक्षित नागरिक आवास कार्यक्रमअन्र्तगत गाउँपालिकाभित्र रहेका विपन्न परिवारको फुसको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यलाई पनि अगाडि बढाएको कुरा म यहाँ राख्न चाहन्छु । स्वच्छ खानेपानी र सिँचाइ सबै जनताले पाऊन् भन्ने हिसाबले कामहरू पनि भइरहेका छन् ।
कतिपय हाम्रो पहलमा प्रदेश सरकार र संघीय सरकारबाट काम भएका छन्, कतिपयलाई हामी आफैंले अगाडि बढाएका छौं । सुसंस्कार हाम्रो पहिचान वृद्धवृद्धालाई सम्मान भन्ने कार्यक्रममार्फत ज्येष्ठ नागरिकका समस्यालाई समाधान गर्ने काम पनि गाउँपालिकाले गरिरहेको छ । त्यस्तै खेलकुद क्षेत्रको विकासका लागि समेत काम भइरहेका छन् । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । बहुउद्देश्यीय भवन निर्माणको काम पनि सुरु भएको छ भने गाउँसभा सदस्य पूर्वाधार कार्यक्रममार्फत पनि पूर्वाधार विकासका काम भइरहेका छन् ।
समग्रमा भन्नुपर्दा हाम्रो स्रोतसाधन र क्षमताले भ्याएसम्म काम गरेका छौं । हाम्रो स्रोत र साधनले नभ्याउने कामका लागि पनि हामीले माथिल्ला निकायहरूमा पहल र प्रयत्न गरेका छौं । हाम्रो कार्यकालको अन्तिम वर्ष पनि भएकाले हामीले सुरु गरेका कामलाई टुङ्ग्याउने हिसाबले हामी लागेका छौं ।
प्रस्तुति : विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्