१५ वर्षपछि लालपुर्जा पाएपछि खुशियाली «

१५ वर्षपछि लालपुर्जा पाएपछि खुशियाली

अर्घाखाँची-सन्धिखर्क नगरपालिकावासीले १५ वर्षपछि लालपुर्जा पाएका छन् । विशेष नापी कार्यालय अर्घाखाँचीले नापजाँच गरी तयार गरेका लालपुर्जा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले वितरण गरे । उनले सशस्त्र द्वन्द्वमा भएको आक्रमणबाट मालपोत कार्यालय ध्वस्त हुँदा पुर्जाविहीन रहेका अर्घाखाँचीबासी लालपुर्जा पाउँदा खुसी भएको बताए ।
लौरो टेकेर आएका ८२ वर्षिय टानबहादुर खड्का लालपुर्जा पाएपछि खुसी भए । द्वन्द्वकालको समयमा अर्घाखाँचीको सदरमुकामका सरकारी कार्यालय ध्वस्त हुँदा जिल्लाबासीका लालपुर्जा जलेर खरानी भएका थिए । २०५९ सालदेखि लालपुर्जा हातमा नभएका खड्काले बैंकबाट जग्गा धितोमा राखेर ऋण निकाल्नसमेत पाएका थिएनन् । लालपुर्जा पाएपछि खुसी हुँदै उनले भने, “अब घरपरिवारले कृषि खेती गर्न खोजेमा पनि बैंकले ऋण दिनेभयो ।”
८६ वर्षिय मेयरसिंह खड्का पनि हर्षित थिए । “जग्गा भए पनि पुर्जा थिएन्, अब पुर्जा भएपछि ढुक्क भयौं,” उनले भने । उनीहरू जस्तै सनपा–३ का तयार भएका ८० प्रतिशत बासिन्दाले लालपुर्जा पाएका छन् । देशबाहिर रहेका, नापजाचँ गर्दा साँधमा झगडा परी रोकिएका कारण २० प्रतिशतको नापचाँज हुन बाँकी रहेको विशेष नापी कार्यालयले जनाएको छ ।
द्वन्द्वमा आगलागीपछि नोक्सान भए पनि २०७३ सालबाट यहाँ नापी टोलीले नापजाँच गर्न सुरु गरेको र अहिलेसम्म ८० प्रतिशत जग्गा नापजाचँ हुँदा ९६० लालपुर्जा तयार भएको वडाअध्यक्ष लिला गौतमले बताए ।
अर्घाखाँचीका सवै वडामा नापजाँच चलिरहेको छ । १५ वर्षदेखि लालपुर्जाविहीन भएका अर्घाखाँचीवासीले नयाँ लालपुर्जा पाउन सुरु गरेका छन् । जिल्लामा अहिलेसम्म पाणिनी गाउँपालिका ३, ४, ५, ६, ७, ८ वडा, सितगंगा नगरपालिकाका ७, ८, ९, १०, ११, १३, १४ वडा, भूमिकास्थान नगरपालिकाका ५, ७, ८, ९, १० वडा, मालारानी गाउँपालिकाको अर्घातोष, छत्रदेव गाउँपालिकाको ३, ८ र सन्धिखर्क नगरपालिकाको १, २, ३, ४, ७, १२ वडाको नापजाँच गरी लालपुर्जा तयार भएको विशेष नापी कार्यालयका प्रमुख खिमबहादुर रानाले जानकारी दिए । बाँकी ६१ वटै वडामा छिट्टै लालपुर्जा वितरण गर्ने गरी नापी टोली लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्