प्राकृतिक प्रकोपले उद्योग तथा जनजीवन अस्तव्यस्त «

प्राकृतिक प्रकोपले उद्योग तथा जनजीवन अस्तव्यस्त

मनसुनको समय सकिएपछि ढुक्कले धान काटेका किसानका बाली नष्ट भएसँगै अविरल वर्षाले उद्योगहरूमा पनि ताण्डव मच्चाएको छ । साथै, विद्युत् आयोजना, सडक, पुललगायत भौतिक संरचनाका साथै सयौंको संख्यामा जीवनको पनि क्षति भएको छ । सरकारले तत्कालका लागि राहतको घोषणा त गरेको छ । तर, यसपटकको मनसुनपछिको वर्षाले जनजीवनमा नराम्रो असर छोड्ने देखिन्छ ।
किनकि किसान त पीडित नै भए, सँगसँगै उद्योगी पनि पीडित बनेका छन् । अविरल बर्सातका कारण मोरङ–सुनसरी कोरिडोरका अधिकांश उद्योगमा क्षति पुगेको छ । उद्योगहरूमा बाढी पस्दा भएको क्षति यकिन नभए तापनि उद्योगीहरूले करोडौंको क्षति भएको अनुमान गरेका छन् । धेरै उद्योगमा बाढी पसेका कारण कारखाना सञ्चालन हुन सकेका छैनन् ।
बूढीगङ्गा, दुहबी, सोनापुर र इटहरीदेखि मोरङको कटहरी खण्डका अधिकांश उद्योगमा बाढीको पानी कारखानामा पसेको छ । कारखानामा पानी पसेर उद्योगका मेसिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, तयारी माललगायत धेरै नोक्सानी पनि भएको छ । यसरी कच्चा पदार्थलगायत तयारी उत्पादन तथा मेसिन पनि बाढीले डुबाएका कारण तत्काल उद्योग सञ्चालन गर्न पनि समस्या परेको छ, जसका कारण कृषिमा परेको नोक्सानका अतिरिक्त उद्योगमा पनि परेको नोक्सानले अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिन्छ ।
धानबालीमा परेको असरका कारण यसै पनि चामल आयात बढ्ने प्रक्षेपण गरिरहँदा उद्योगमा परेको असरले आयात झन् उच्च हुने अनुमान गर्न कठिन छैन । यसै पनि पछिल्ला महिनादेखि आयात उच्च हुन थालेको अवस्थामा झन् बढ्ने आयातको असरले अर्थतन्त्रलाई थला पार्ने निश्चित छ ।
खाद्यान्नदेखि दैनिक उपभोगका सामग्रीसम्मको घरेलु उत्पादनमा असर पर्दा यी वस्तुहरू पनि आयात गर्नुपर्ने भएपछि मुलुकले आयात धान्न नसक्ने देखिन्छ । उद्योगीलाई मात्र नभई व्यापारी पनि बाढीबाट पीडित बनेपछि उपभोक्तालाई पनि सास्ती बढ्नेछ ।
यतिमात्र नभएर अविरल वर्षाका कारण जलविद्युत् आयोजना तथा विद्युत्गृहहरू डुबानमा परेका छन् । सुनसरीको दुहबीस्थिति १ सय ३२ केभी सबस्टेसन ३८ घण्टापछि बल सञ्चालनमा आउँदा बिजुलीको अभावमा जनजीवन तथा उद्योग–व्यवसाय सबै कष्टकर भयो ।
डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा आएको छ । तर, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर दुहबी सबस्टेसन संचालनमा ल्याइएको छ ।
जसका कारण प्रदेश नं. १ का मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरूमा बिजुली आपूर्ति रोकिएको थियो । यसका साथै वर्षाका कारण विभिन्न स्थानमा रूख ढल्दा बन्द भएको अत्तरिया–चमेलिया १ सय ३२ केभी प्रसारण लाइन पनि बल्ल सञ्चालनमा ल्याइएको छ ।
बिहीबारबाट सञ्चालनमा आएको प्रसारण लाइनले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पर्ने अधिकांश भागमा विद्युत् आपूर्ति सुचारु भएको छ । यसैगरी अविरल बर्सातका कारण विमानस्थल, पुल तथा सडकमा क्षति पुगेपछि आवतजावत नै बन्द भएको छ । वर्षाले जलमग्न रहेको विराटनगर विमानस्थल शुक्रबारसम्मका लागि अझै बन्द छ भने यात्रुहरू विराटनगरको सट्टा भद्रपुर विमानस्थलबाट आवतजावत गर्न बाध्य छन् ।
पुनः सञ्चालनका लागि तयारी गर्न समय लाग्ने भएपछि विराटनगर विमानस्थल शुक्रबार साँझ ५ बजेसम्मका लागि बन्द गर्न नोटमा जारी गरिएको छ । डुबानका कारण विमानस्थलमा प्रयोग हुँदै आएको विद्युतीय उपकरणलगायत अन्य उपकरणको पुनः मर्मत गर्नुपर्ने अवस्था छ । यसरी जलवायु परिवर्तनको मुद्दामा सरकार संवेदनशील नहुँदा भौतिक संरचनालगायत धेरै संरचना बाढीले बगाउने तथा पानीले डुबाउने गरेका कारण यसको क्षति यकिन भइसकेको छैन । यी क्षति पनि अर्थतन्त्रका लागि नोक्सान नै हुन् ।
त्यसैले भौतिक संरचनाको निर्माणअगाडि बाढीपहिरो तथा भूकम्पजस्ता प्राकृतिक प्रकोपको अध्ययनमा गम्भीर हुन आवश्यक छ । अध्ययनपछि यस्ता बारम्बर दोहोरिने प्राकृतिक प्रकोपबाट भौतिक संरचना जोगाउन कदम नचाल्ने हो भने यसैगरी हरेक वर्ष नागरिकको करबाट बनेका भौतिक संरचना ध्वस्त भइरहने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्