लुम्बिनी प्रदेशमा ५ अर्बको क्षति «

लुम्बिनी प्रदेशमा ५ अर्बको क्षति

वर्षाले धानबाली क्षति कञ्चनपुर, १ कात्तिक : शुक्लाफाँटा नगरपालिका–१, वन्साहमा लगातारको वर्षाले बगाएको धानबाली । खेतमा काटेको धानबाली पानीले बगाउँदा किसानले क्षति व्यहोरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

गत सोमबारदेखि ३ दिनसम्म परेको वर्षाका कारण लुम्बिनी प्रदेशमा पाँच अर्ब बराबरको कृषि उत्पादना क्षति पुगेको ठहर लुम्बिनी प्रदेश सरकारले गरेको छ ।
प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै वर्षाका कारण प्रदेशका किसानहरुको पाँच अर्ब मूल्य बराबरको बालीमा क्षति पुगेबाट प्रदेश सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।
“लुम्बिनी प्रदेशमा बर्दियालगायतका जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटीसकेपछि धान र ९३ हजार ५७६ हेक्टरमा रहेको काट्न बाँकी रहेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुँदा करिब ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँको बाली नस्ट भएको छ । यस्तै पहाडी जिल्लामा मकै बाली पनि नस्ट भएको छ ।” मुख्यमन्त्री केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री केसीले प्रदेशबासीलाई परेको पीडामा सरकारको समन्वयमा संघीय र स्थानीय तहको सहभागीतामा राहत प्रदान गर्ने घोषणासमेत गरेका छन् ।
प्राकृतिक महाविपत्तिले सृजित समस्याको सामनाका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई प्रभावित क्षेत्र बर्दिया र वाँकेमा राहत र उद्धार सामग्रीसहित पठाई सकिएको जनाउँदै प्रदेश सरकारले यस्ता महाविपत्तिमा नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता बनाउँदै छिटो छरिटो रुपमा उद्धार कार्य गरेको बताएका छन् ।
मुख्यमन्त्री केसीले प्रदेशका किसानहरुको खेतमा भिजेको धानवाली उठाउनका लागि सहयोग गरि दिन सम्पूर्ण जनप्रतिनिधी, राजनीतिक दल, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दलका भातृ एवं सुभेच्छुक संगठन, सामाजिक संघसँस्था, नागरिक समाज, रेडक्रस सोसाइटी, मावनअधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थीलगायत सबै जनसमुदायमा सार्वजनिक अपिल गर्दै यस घटनामा प्रदेश सरकारको तर्फबाट राहत प्याकेज घोषणासहित किसानहरुलाई परेको पीडामा प्रदेश सरकार हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्