शीतलहर पीडितको उपचारमा डा. केसी तराईमा

बिहीबार बिहानै डा. गोविन्द केसी रौतहट आएको हल्लाले प्रहरी प्रशासन डा. केसी कहाँ बसेका छन् भनेर खोजीमा व्यस्त देखिन्थे भने सञ्चारकर्मी पनि डा. केसी रौतहटको कुन ठाउँमा जाँदैछन् भनेर उनी बसेको स्थानको खोजीमा लागे । तर डा. केसी कतिखेर रौतहटको गढीमाई नगरपालिका पुगे न प्रहरीले पत्ता पायो न सञ्चारकर्मीले ।
डा. केसी पुगेको २ घण्टापछि मात्र सञ्चारकर्मी र प्रहरीले थाहा पाए पनि गढीमाई नगरपालिकाको दलित बस्तीमा मेला झैं लागेको थियो डा. केसीलाई हेर्न र समाचार संकलन गर्न । विगत केही समयदेखि बढेको शीतलहरका कारण रौतहटमा मृत्यु हुनेको संख्या बढ्न थालेपछि त्रिभुवन शिक्षण अस्पताल काठमाडांैका डा. गोविन्द केसी रौतहटको शीतलहर पीडितको घरदैलोमा पुगेका छन् । शीतलहरबाट रौतहटमा २३ जनाको मृत्यु भएको समाचार प्रकाशन, प्रसारण भए पनि डा. केसी बिना जानकारी केही सहयोगीका साथ रौतहट आएका हुन । डा. केसीले बिहीबार रौतहट जिल्लाको गढीमाई नगरपालिका सुन्दरपुरको मुसहर बस्तीमा सर्वसाधारणको स्वास्थ्य चेक जाँचका साथै न्यानो कपडा वितरण गरेका छन् । एकाबिहानै डा. केसी कम्बल तथा अन्य न्यानो कपडासहित रौतहटको गढीमाई नगरपालिककाका विभिन्न वडामा रहेका चमार, दुसाद, मुसहर, डोमलगायतका गरिब तथा विपन्न समुदायको घरमा न्यानो कपडासहित उनीहरूको स्वास्थ्य उपचारमा सक्रिय भएका छन् ।
डा. केसीको साथमा डा. तोसिमा कार्की, डा.अभिशेखराज सिंहसहितको टोली गढीमाईका दलित बस्तीमा पुगेका हुन् । डा. केसी गढीमाई जाने क्रममा बाटोमा देखेका गरिब, दिनदुःखी तथा ज्याला मजदुरी गर्नेलाई समेत न्याना कपडाहरू वितरण गरेका छन् । डा. केसी रौतहट आएको खबर पाउनासाथ रौतहट प्रहरीले डा. केसी गएको स्थान खोज्नमै व्यस्त भए पनि पत्ता लगाउन सकेन तर केसी भने एकाबिहानै गढीमाई नगरपालिकाको सुन्दरपुर गाउँको विपन्न दलित बस्तीमा पुगिसकेका थिए । दलित बस्तीमा न्यानो कपडा वितरण पश्चात निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका उनले चिसोबाट प्रभावित बस्तीको तथ्यांक लिएर रौतहट आएको सञ्चारकर्मीलाई जानकारी दिए । केसीसहितको टिम बुधबार काठमाडौंबाट कम्बल र न्याना लुगा बोकेर रौतहट आएका थिए ।