पाँच जनाको उद्धार, एक सम्पर्कविहीन «

पाँच जनाको उद्धार, एक सम्पर्कविहीन


वर्षाका कारण फसेका आरोहीहरुको उद्धार गरिएको छ । वर्षासँगै हिमपातका कारण मौसमका खराव हुँदा सोलुखुम्बु जिल्लास्थित मेरा पिक ६४७० मिटरको आरोहण गरी फर्कने क्रममा बाटोमै आरोही फसेका थिए ।
फसेकामध्ये चार जना विदेशी आरोही र एक जना नेपाली पथ प्रदर्शकलाई सम्बन्धित कम्पनीको पहलमा उद्धार गरी बिहीबार काठमाडौं ल्याइएको नेपाल पर्वतारोहण संघ (एनएमए) जनाएको छ । उद्धारका लागि शेर्पा संघको सहकार्यका सम्बन्धी एजेन्सीले उद्धार गरेको थियो ।
आरोहण अनुमति लिएर मकालु एड्भेन्चर प्रालिमार्फत उनीहरु आरोहणमा गएका थिए । उद्धार गरिएका सबै आरोहीको सबैको काठमाडौमा उपचार भइरहेको संघका अध्यक्ष सन्तवीर लामाले बताए ।
पिक आरोहण गरी फर्कंदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएको टोलीले सुरक्षित रुपमा लुक्लामा ल्याएको थियो ।
एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीको एक सदस्य छेतेन शेर्पा भने पछिल्लो तीन दिनदेखि सम्पर्कविहीन रहेको र उनको खोजी जारी रहेको अध्यक्ष लामाले बताएका छन् ।
“मेराला ओडारबाट तल झर्ने बेलमा छेतेन हिउनमा चिप्लिएर खसेको अनुमान हामीले गरेका छौं” अध्यक्ष लामाले भने, “स्थानीय प्रशासन, र एजेन्सीसहितको टोलीले हराएका शेर्पाको खोजी जारी राखिएको छ ।” मेरापिक आरोहण गरेर फर्कने क्रममा वर्षाका कारण हिमपात हुँदा मंगलबार दिउँसोदेखि उनीहरु हिउँमा फसेका थिए ।
बुधबार नै हराएकाको खोजीको लागि हेलिकोप्टर तयारी अवस्थामा राखेर भएपनि मौसम प्रतिकूल हुँदा खोजी हुन सकेको थिएन् । बिहीबार मौसम अनुकूल भएपछि खोज तथा उद्धारका लागि हेलिकोप्टर पठाइएपनि हालसम्म शेर्पा फेला नपरेको अध्यक्ष लामाले बताए ।
संघले सम्बन्धित कासनीसँगको समन्वयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी कार्य जारी राखेको छ । समूह नेता नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा उनको पैदल यात्रामार्फत पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्