भरतपुर महानगरमा १८ हजार घरपरिवार थपिए «

भरतपुर महानगरमा १८ हजार घरपरिवार थपिए


चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरमा १८ हजार बढी परिवार बढेका छन् । जनगणना कार्यालय चितवनका अनुसार चितवनमा ३९ हजार २ सय ३८ घरपरिवार थपिएका छन् । राष्ट्रिय जनगणनाअन्तर्गत पहिलो चरणको घर तथा घरपरिवारको सूचिकरणबाट घरपरिवार बढेको देखिएको हो ।
भदौ ३० देखि असोज १८ गतेसम्म २ सय १० सुपरिवेक्षकले संकलन गरेको प्रारम्भिक विवरणमा भरतपुरमा १८ हजार ४ सय ७ परिवार बढेका छन् । भरतपुरमा ८२ हजार ४ सय ९६ घर, ६५ हजार ४ सय २५ मानिस बस्ने घर पाइएको छ । रत्ननगरमा ७ हजार ८३, खैरहनीमा ४ हजार ९ सय ३७, कालिकामा ३ हजार २ सय २१ घरपरिवार थपिएका छन् ।
यस्तै राप्तीमा ३ हजार ६४, माडीमा १ हजार २ सय १८ र इच्छाकामना गाउँपालिकामा १ हजार ४ सय २५ घरपरिवार बढेका हुन् । २०६८ सालको जनगणनामा चितवनमा १ लाख ३२ हजार ४ सय ६२ घरपरिवारमा रहेकोमा यसपालि १ लाख ७१ हजार ७ सय पुगेको हो । जनगणना कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले राष्ट्रिय जनगणनाको तयारी तीव्र पारिएको बताए । कात्तिक २५ गतेदेखि मंसिर ९ सम्म हुने गणनाका लागि गणक प्रमाणिकरणको काम भइरहेको छ ।
कात्तिक ५ गतेसम्म केन्द्रीय तथ्यांक विभागवाट छनोटमा परेका गणकको कागजात रुजु तथा प्रमाणिकरण गरेर ९ गते नतिजा प्रकाशन गरिने छ । भरतपुरमा ३, माडी, रत्ननगर र माडीमा एक–एक, खैरहनी समेत हेर्ने गरी राप्तीमा एक, इच्छाकामना समेत हेर्ने गरी कालिकामा एक स्थानीय जनगणना कार्यलय स्थापना भएका छन् ।
तराईका जिल्लामा एक गणकले कम्तिमा २ सय ५० परिवारको विवरण संकलन गर्नेछन् । चितवनमा ८ सय १४ गणना क्षेत्र छन् । चितवनमा ८ सय ५७ गणक र २ सय १० सुपरिवेक्षक खटिनेछन् । भण्डारीका अनुसार ८० वटा प्रश्नसहित घरपरिवारको विवरण संकलन हुनेछ । एक परिवारको विवरण संकलन गर्न करिव ४५ मिनेट लाग्नेछ ।
चितवनका ९८ वडामा वडास्तरीय जनगणना सहजीकरण समिति गठन भइसकेको छ । गणकलाई विवरण संकलनमा सहयोग गर्न भण्डारीले आग्रह गरे । यसपालिको गणनामा घर गणना, वडाध्यक्ष वा सचिवमार्फत सामुदायिक प्रश्नावलीको विवरण, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको, प्राविधिक तथा व्यावसायिक शिक्षा लिने परिवार सदस्यलगायतका विवरण लिइने छ ।

प्रतिक्रिया दिनुहोस्