११ जिल्लाबाट ६ महिनामा ६७६ उजुरी «

११ जिल्लाबाट ६ महिनामा ६७६ उजुरी

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदो

हेटौंडा-स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको तथ्य बाहिर आएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा चालू आवको ६ महिनाको अवधिमा परेको भ्रष्टाचार सम्बन्धी उजुरीमध्ये धेरैजसो उजुरी स्थानीय सरकारका रहेका छन् । अख्तियारको हेटौंडा कार्यालयमा ११ जिल्लाबाट ६ महिनाको अवधिमा ७ सय ७६ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् ।
जसमध्ये ३ सय २९ वटा मुद्दाको फैसला भइसकेको छ । बाँकी ३ सय ७४ वटा उजुरीमाथि छानबिन भइरहेको अख्तियारको हेटौंडा कार्यालय प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । अख्तियारमा यो अवधिमा सबैभन्दा बढी मुद्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित आएका छन् । सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित २ सय ५७ वटा मुद्दा परेकोमा १ सय ३७ वटा फैसला भइसकेको बताइएको छ ।
हेटौंडा कार्यालयको क्षेत्रभित्र पर्ने प्रदेश ३ का ९ वटा र प्रदेश २ का दुईवटा जिल्लामध्ये सबैभन्दा बढी भ्रष्टाचार बारा जिल्लामा भइरहेको बताइएको छ । चालू आवको ६ महिनाको अवधिमा बारा जिल्लाबाट मात्र १ सय ७९ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् । पर्सा जिल्ला पनि उत्तिकै भ्रष्टाचार हुने जिल्लामा गनिएको छ । ६ महिनाको अवधिमा पर्साबाट १ सय ५९ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै मकवानपुर र चितवन पनि बढी भ्रष्टाचार हुने प्रमुख चार जिल्लामध्येको सूचीमा परेका छन् ।
बढीजसो स्थानीय तहमा सेवा प्रवाह र विकास निर्माणमा भएका भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने गरेको कार्यालय प्रमुख पाण्डेले बताइन् । सडकका गुणस्तर नपुगेको, लागत अनुमानअनुसार कार्य नभएको, सार्वजनिक खरिद र नियमको पालना नभएको जस्ता उजुरी पनि अख्तियारमा दर्ता भएका छन् । यस्तै अनुशासनको पालना नगर्ने, विधि र प्रक्रिया मिच्ने, जिम्मेवारी र जवाफदेहिता बाहिर जाने जस्ता काम भएको भन्दै उजुरी गर्नेहरु पनि धेरै देखिएका छन् ।
प्रदेश सरकारका मन्त्रालयहरूमा भत्ताको दुरूपयोग भएको, ढुङ्गा, गिट्टी, बालुवाको तस्करी भएका सम्बन्धी उजुरी पनि प्रशस्तै आउने गरेको कार्यालयले जनाएको छ । प्रविधिको विकास एवम् सूचना सञ्जालीकरणको विस्तारसँगै भ्रष्टाचारको स्वरुप र तरिकामा समेत परिवर्तन आएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्