सामलिङ पावरको आइपीओमा आवेदन खुला «

सामलिङ पावरको आइपीओमा आवेदन खुला

सामलिङ पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले बिहीबार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैयाँ मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।
निष्कासन गरिएको साधारण सेयरमध्ये पाँच प्रतिशतअर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने छ लाख ७८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आगामी कात्तिक ८ गतेसम्म आवेदन दिन पाउने भएका छन् ।
कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।
कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माई खोलामा ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत दुई अर्ब रुपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्वबहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्