राष्ट्रपतिद्वारा नवदुर्गाको दर्शन «

राष्ट्रपतिद्वारा नवदुर्गाको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गाकोे दर्शन गरेकी छन् ।
दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर विजयादशमीलाई विदाई गरिने परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बुधबार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरिन् । उक्त अवसरमा नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको टीका प्रसाद प्रदान गरेका थिए ।
यस्तै नवदुर्गा गणका नाइके बिजेश वनमालाले राष्ट्रपतिलाई नवदुर्गाको फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिइन् । नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको प्रसादका रुपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिने पुरानो चलन हो । नवदुर्गा गणको जात्राका लागि समस्या भएको वनमालाहरुले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
उनीहरुले अघिल्लो वर्ष राष्ट्रपतिको नै उपस्थितिमा भएको नवदुर्गा गणको जात्राको खर्च बापत पाउनुपर्ने सहयोग हालसम्म नपाएको पुजारी बालकृष्ण बनमालाले जानकारी गराएका थिए । नवदुर्गाको मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्येक मुकुन्डोमा दक्षिणा चढाउने परम्परा छ । यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ । नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन् । राष्ट्रपति भण्डारीले नवदुर्गा पूजासँगै देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाइन् ।

प्रतिक्रिया दिनुहोस्