बागमतीमा सरकारको आयु जबरजस्ती लम्ब्याइँदै «

बागमतीमा सरकारको आयु जबरजस्ती लम्ब्याइँदै


गणीतीय रुपमा लामो समयदेखि अल्पमतमा रहेको बागमती प्रदेश सरकारले आफ्नो आयु जबरजस्त लम्ब्याउने कोसिस गरेको छ । गत असोज २४ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता गरेता पनि हालसम्म त्यसलाई प्रदेशसभाबाट टुङ्ग्याइएको छैन ।
संवैधानिक व्यवस्थाअनुसार गत असोज २४ गते विश्वासको मतको प्रस्ताव प्रदेशसभामा लगिए पनि सभामुख सानुकुमार श्रेष्ठले विश्वासको प्रस्ताव पेश भएसँगै कात्तिक ४ गतेसम्मको लागि बैठक स्थगित गरेका थिए । बिहीबारको बैठकमा पनि प्रस्तावमाथिको छलफल मात्रै गरेर बैठक थप एक साता पछि धकेलिएको छ । प्रदेशसभाको अर्को बैठक कात्तिक १० गतेसम्मको लागि स्थगित गरिएको छ ।
मुख्यमन्त्री शाक्यलाई मुख्यमन्त्री बनाएको दल नेकपा एमाले टुक्रिएसँगै ४३ जना सांसदमा खुम्चिएको छ । टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा १३ जना, नेकपा माओवादी केन्द्रमा २३ जना, कांग्रेसको २२ जना र जनता समाजवादीको एक सांसदसहित विपक्षी गठबन्धन ५९ सांसदका साथ सरकार गठनको लागि तयार भएता पनि शाक्य नेतृत्वको सरकारले मार्ग प्रसस्त गरेको छैन ।
प्रदेशसभामा जम्मा एक सय ९ सांसद रहेका छन् । विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका संस्दीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई राजीनामा दिएर नयाँ सरकार बनाउन मार्ग प्रसस्त गरिदिन आग्रह गरे ।
नेता जम्कट्टेलले विपक्षी गठबन्धनले सरकार बनाउन बहुमत लिएर तयार भएको भन्दै राजनीतिक इमान्दारिता र नैतिकता जोगाउँदै तत्काल राजीनामा दिन शाक्यलाई आग्रह गरे । व्यक्तिगत रुपमा मुख्यमन्त्रीप्रति सम्मान नै रहेको भन्दै उनले राजनीतिक रुपमा शाक्यलाई साथ दिन नसक्ने अवस्था रहेको उनले बताए ।
विभिन्न बहाना बनाएर प्रदेशसभा बैठक सार्ने र सत्ता लम्ब्याउने खेल भइरहे बहुमत पु¥याएर प्रदेश प्रमुखकोमा गएर वर्तमान सरकार हटाएर नयाँ सरकार बनाउन बाध्य हुने पनि उनले चेतावनी दिए । मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावमा आफूहरुले समर्थन गर्न नसक्ने र शाक्य अल्पमतमा परिसकेको पनि जम्कट्टेलले बताए ।
यस्तै नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मुलुकमा संविधान र व्यवस्थाको रक्षा गर्न गठबन्धनको सरकार बनेको भन्दै निर्वाचनसम्म नै सहकार्य जारी रहने बताए । केन्द्रमा बनेको गठबन्धनको सरकार प्रदेश तहमा पनि बन्ने र जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वर्तमान प्रदेश सरकार अल्पमतमा परिसकेको बताउँदै बानियाँले अब अलमल नगरी गठबन्धनको सरकार बनाउन मार्ग प्रसस्त गरिदिन आग्रह गरे । अल्पमतमा परिसकेको सरकारले भ्रमको राजनिति गर्दै लोभको खेती गरिरहेको भन्दै उनले आपत्तिसमेत जनाए ।

‘अध्यादेशका कारण राजनीतिक अस्थिरता’
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दल फुटाउने अध्यादेश ल्याएर नेकपा एमाले टुक्रिएसँगै देशमा राजनीतिक अस्थिरता बढेको आरोप लगाएकी छन् । प्रदेशसभामा आफ्नो विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा कमजोर भएको बताइन् ।
देउवा नेतृत्वको सरकारले अध्यायदेश ल्याएर दल फुटाउन मार्ग प्रसस्त गरिदिनु गलत भएको उनको टिप्पणी थियो । आफू संयुक्त एमालेबाटै मुख्यमन्त्री बनेको बताउँदै उनले पार्टी फुटेसँगै आफूलाई समर्थन गरेका सांसदहरुले नै फरक गतिविधिमा लागेको स्मरण गरिन् ।
मुख्यमन्त्री पौडेलले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकाल र आफ्ना कार्यकालमा भएका कामहरुको फेहरिस्तसमेत प्रस्तुत गरिन् । बागमती प्रदेश सरकार र आफ्नो पार्टी एमाले प्रदेशको विकासमा प्रतिवद्ध रहेको उनले बताइन् । प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न प्रदेश सरकार सफल पनि उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्