दुर्घटनाको जोखिम बढ्दो «

दुर्घटनाको जोखिम बढ्दो

कर्णालीका चालक प्रेसरका रोगी

जुम्ला-कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको निःशुल्क स्वाथ्य परीक्षण अभियान जारी छ । यस अभियानअन्तर्गत आइतबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परीक्षणमा ५० जना चालकको स्वास्थ्य चेकजाँच गरिएको छ । चेकजाँच गरिएका ५० जनामध्ये ३५ जना बढीमा उच्च रक्तचापको समस्या देखिएको छ ।
बढ्दो अल्कोहलको प्रयोगले गर्दा प्रेसरको समस्या देखिएको हो । यसअघि जुम्ला बसपार्कमा भएको स्वास्थ्य परीक्षणमा ७७ जना सवारी चालकले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । तिनीहरूमा पनि प्रेसरकै समस्या बढी थियो । स्वास्थ्य परक्षीण गर्नेमा ट्याक्टर, बस, जीप, अटोरिक्सादेखि मालबाहक गाडीका चालकलाई प्रेसरबाट जोगिन तथा मद्यमान, धुम्रपान नगर्न सुझाव दिइएको छ ।
आइतबार स्वास्थ्य परीक्षण गरिएका ५० जना चालकमध्ये दुई जनालाई आँखाको समस्या, तीनजनालाई आँखाको कलर भिजन वा ट्राफिक चिन्ह्र सजिलै चिन्न नसक्ने समस्या देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वाथ्यकर्मी कर्मेन्द्र न्यौपानेका अनुसार चालकहरूले अत्यधिक मदिरा, धुम्रपान तथा खैनी सेवन गर्ने गरेकाले उनीहरूको स्वास्थ्यमा असर परेको देखिन्छ । जसले गर्दा प्रेसर बढेको हो । अधिकांश चालकको कलेजो र फोक्सोमा समेत समस्या बढ्दै गएको उनले बताए ।
“मदिरा सेवनकै कारण चालकको हात काप्ने, आँखा पहेलो देखिनेजस्ता लक्षण देखिएका छन्,” उनले भने, “सवारी चालकले आफू स्वस्थ रहन तथा सवारी दुर्घटना घटाउन मध्यपान र धुम्रपान सेवन छोड्नु पर्छ ।”
आँखा चिकित्सक दलबहादुर महताराले भने, “चालकहरूको आँखामा देखिएको समस्याका कारण सवारी सञ्चालनमा समेत असर परेर दुर्घटना निम्तिन सक्छ ।” त्यसैले सवारी चालकहरू आफू स्वस्थ रहन र अरुलाई पनि दुर्घटनाबाट बचाउन समयमै आँखा रोगको उपचार गर्न जरुरी रहेको उनले बताए ।
कर्णाली राजमार्गमा सवारी चलाउँदा चालकले धुम्रपान तथा मध्यपानको अधिक सेवन गर्ने, क्षमताभन्दा दोब्बर यात्रु बोक्ने लगायतका कारणले दुर्घटनाको जोखिम बढेको छ भने सार्वजनिक यातायातमा हुने फोहोरका कारण वातावरण तथा सवारी साधान समेत दुर्घन्धित हुँदै गएका छन् ।
जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमुख गंगाराम विकले सवारी दुर्घटनाको जोखिम घटाउनुका साथै चालकको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । “हरेक सार्वजनिक यातायातमा अनिवार्य फोहोर मलाई राख्न लगाएका छांै, स्वाथ्य परीक्षण पनि नियमित हुनेछ,” उनले भने, “सो अवसरमा अवाश्यक कागजातसमेत चेकजाँच हुन्छन्, सुरक्षित र स्वच्छ सहर निर्माण अभियानमा सबै लागि परौं ।” कर्णाली राजमार्गमा हुने सवारी दुर्घटानामा यहाँका हजारांै नागरिकले ज्यान गुमाइसकेका छन् ।
शिविरको अवसरमा अधिकांश सवारी चालकले सुरुसुरुमा सहजै आफ्नो स्वास्थ्य परीक्षण मानेका थिएनन् । स्वास्थ्य परीक्षणका विषयमा धेरै कुरा बुझाउनु परेको थियो भने कसैलाई दबाबसमेत दिनु परेको थियो । स्वास्थ्य परीक्षण गराएका सतप्रतिशत सवारी चालकले नियमित धुम्रपान तथा मध्यपान सेवन गर्ने गरेको पाइएको छ । जसले गर्दा कर्णाली राजमार्गमा चल्ने सवारी चालकहरू धुम्रपान तथा मध्यपानलगायतको कुलतमा लिप्त छन् भन्ने संकेत प्रष्ट हुन्छ । जिल्ला ट्राफिक कार्यालय, यातायात व्यवस्था कार्यालय, नेत्रज्योति संघ (आँखा अस्पताल) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्