Logo

तीन महिनामै डेढ खर्ब लगानी प्रस्ताव


कोभिड महामारीका कारण अर्थतन्त्रमा निराशा पैदा भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामा उद्योग दर्ता उत्साहजनक देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९को पहिलो तीन महिनामा स्वदेशी र विदेशी लगानीका गरी कुल एक खर्ब ४४ अर्ब रुपैयाँ बराबरको लगानीका उद्योग दर्ता भएका छन् ।
विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म स्वदेशी लगानीका ८७ उद्योग दर्ता भएका छन् । ती उद्योगले एक खर्ब २२ अर्ब लगानी प्रस्ताव गरेका छन् भने सोही अवधिमा दर्ता भएका प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का १ सय ७ उद्योगले २४ अर्ब लगानी प्रस्ताव गरेका छन् । स्वेदशी लगानीका ८७ उद्योगबाट ८ हजार १ सय ३४ रोजगारी दिने लक्ष्य छ भने १ सय ७ वटा वैदेशिक लगानीका परियोजनाहरू स्वीकृत भई ७ हजार १ सय ९५ रोजगारी दिने गरी प्रस्ताव भएको छ ।
उद्योग दर्ता संख्याका आधारमा गत आवकै हाराहारीमा भए पनि लगानी प्रतिवद्धता भने गत वर्षभन्दा यस वर्षको तीन महिनामा उच्च छ । गत आवको सोही अवधिमा उद्योग विभागमा जम्मा ८१ वटा उद्योग दर्ता भएका थिए । यी उद्योगमा ५७ अर्ब ६१ करोड लगानी प्रतिवद्धता प्राप्त भएको थियो । यी उद्योगले कुल ४ हजार ९ सय ७९ जनालाई रोजगारी दिने लक्ष्य राखेका छन् । लगानी प्रतिबद्धताका हिसाबले चालू आवको तीन महिनामा दोब्बरभन्दा बढी प्रस्ताव आएका छन् ।
अघिल्लो आव २०७७/०७८ मा १ खर्ब ५६ अर्ब प्रतिबद्धता प्राप्त भएकोमा चालू आवको तीन महिनामै सो हाराहारीमा लगानी प्रतिवद्धता प्राप्त भएको छ । अघिल्लो वर्षभरीमा जम्मा २ सय ३ उद्योग दर्ता भइ ११ हजार ८ सुय ३३ रोजगारी सिर्जनाको लक्ष्य राखिएको थियो । आव २०७६/०७७ मा भने २७७ उद्योग दर्ता भइ १ खर्ब ५२ अर्ब लगानी प्रतिवद्धता र यसमार्फत १० हजार ८ सय ३९ संख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको थियो ।
आव २०७६/०७७ मा भने यस अवधिमा कुल १ सय २८ उद्योग दर्ता भएको र यी उद्योगले १८ अर्ब ६६ करोड लगानी गर्दै ७ हजार ९ सय ५३ जनालाई रोजगारी दिने उल्लेख गरेका थिए । यसरी हेर्दा परियोजना संख्या, लगानी र रोजगारी सिर्जनाका हिसाबले चालू आवको सुरुवात उत्साहजनक देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति भरत आचार्य लगानी प्रतिवद्धता बढ्नु स्वाभाविक र उत्साहजनक भएपनि प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान तदारुकता आवश्यक रहेको बताउँछन् । उनका अनुसार अहिलेसम्म विदेशी लगानी र स्वदेशी लगानीकर्ताले कति उद्योग दर्ता गरे र दर्ता भएअनुसार कति लगानी भित्रियो अथवा स्वदेशीले पनि लगानी गरे भन्ने यकीन तथ्यांक नहुँदा समस्या भएको छ । लगानी प्रतिवद्धता मात्रैले पनि सकारात्मक सन्देश दिने सभापति आचार्य बताउँछन् ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसालका अनुसार पछिल्लो समय नीतिगत र प्रक्रियागत सुधारसँगै उद्योगमा लगानी गर्ने क्रम बढेको छ । उनका अनुसार लगानी गर्न वातावरण बनाउनका लागि लगानीसँग सम्बन्धित औद्योगिक व्यवसाय ऐन, औद्योगिक व्यवसाय नियमावली, सार्वजनिक निजी साझेदारी नियमावली, लगानी बोर्डसँग सम्बन्धित नियमावली र कानुनहरूका कारण अहिले लगानीकर्तामा झमेला नगण्यमात्र छ ।
“लगानीकै लागि विभिन्न संरचनागत व्यवस्था गरेको छ भने लगानीको वातावरणका लागि नै सरकारले बजेट, योजना तथा नीति कार्यक्रम निर्माणमा पर्याप्त प्राथमिकता दिएको छ,” महानिर्देशक भुसाल भन्छन्, “अहिले औद्योगिक लगानीको वातावरण नबनेको भन्ने हैन ।
यसका लागि औद्योगिक जनशक्ति विकासमा पनि सरकारले जोड दिएको छ ।” नेपाल जस्तो समुद्र नभएको मुलुकका लागि कच्चा पदार्थ आयात महँगो पर्ने भएकाले उत्पादन लागत बढेर जाने भएकाले गर्दा अन्य मुलुकको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहे पनि तुलनात्मक लाभका वस्तुमा जोड दिनुपर्ने उनको भनाइ छ । “स्वदेशलाई नै आत्मनिर्भर बनाउन सक्ने राष्ट्रिय उद्योगहरूलाई निरन्तर राज्यले संरक्षण गर्नुपर्छ,” भुसाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्