बडादसैं र पिङ संस्कृति «

बडादसैं र पिङ संस्कृति

कवि शिरोमणि लेखनाथ पौड्यालले ‘सबै अत्यन्त आनन्दी, सबै छन् पिङमा दङ्ग’ भनेर दसैं कवितामार्फत पिङको मनोरञ्जन पक्षमाथि जोड दिएका छन् । जसले पिङ खेल्ने समयबोध गराउँछ । कवितांशअनुसार दसैंतिहारमा मानिसहरू पिङमा भुलेका मात्र होइन, झुलेका पनि हुन्छन् भन्न खोजिएको हो ।
कुनै समय थियो, केटाकेटी, युवा सबै यस बेला पिङमा झुम्मिएका हुन्थे । बडादसैं र तिहारताका चौर, बाटोघाटो सबैतिर पिङ हाल्ने नेपाली चलन अहिलेको होइन, यो त परापूर्व कालदेखि नै चलिआएको हो । पिङलाई हिन्दू संस्कृतिको जीवन्त पहिचानका रूपमा लिइन्छ । जसको आफ्नै मूल्य, मान्यता र महŒव छ । पिङ किन खेलिन्छ, थाहा छैन तर वर्षमा एक दिन खेल्नुपर्छ भन्ने सबैलाई थाहा छ । परम्पराका रूपमा वा मनोरञ्जनको साधनका रूपमा पिङ पहिलेदेखि नै चलिआएको छ ।
अचेल विभिन्न खाले मेला, सर्कस तथा पार्कहरूमा पनि विभिन्न खालका पिङ राखिएको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने पिङ धेरै प्रकारका हुन्छन् । आधुनिक प्रविधिबाट बनेका पिङमात्र नभएर नेपाली परम्पराका पिङको दसैंतिहारमा ज्यादै नै प्रयोग भएको पाइन्छ । तर पनि प्रायः सबैतिर पाइने पिङ भनेको लिङ्गे पिङ नै हो । अन्य पिङको तुलनामा लिङ्गे पिङ तयार गर्न त्यति कठिन हुँदैन ।
चारवटा बाँसको लिङ्गो गाडेर बाबियोको डोरी झुन्ड्याएर बनाइएको पिङ नै लिङ्गे पिङ हो । बाँस सर्वत्र पाइने भएकाले पनि गाउँघरका अतिरिक्त सहरबजारतिर पनि बाँस गाडेर हालेको पिङ देख्न सकिन्छ । लिङ्गे पिङजस्तै अर्को लोकप्रिय पिङ हो— रोटेपिङ । यसमा ४, ८, १२, १६, २४ वटा पिर्का राखेर बनाइएको हुन्छ, जसलाई रोटेपिङ भनिन्छ ।
त्यस्तै जाँतोझैँ घुम्ने पिङ जाँतेपिङ हो । खास गरी जाँतेपिङ र रोटेपिङ पहाडतिर वा काठ प्रशस्त पाइने ठाउँतिर निर्माण गरिन्छ । यस प्रकारका पिङ निर्माण गर्न दक्ष, सिपालु व्यक्ति पनि आवश्यक पर्छ । दक्ष, सिपालु व्यक्तिको अभाव भएका कारण रोटे र जाँतेपिङ हिजोआज त्यतिमात्रामा देख्न नसकिएको हो ।
“दसैंतिहारताका सबैलाई पायक पर्ने ठाउँमा पिङ हाल्ने प्रचलन ज्यादै पुरानो हो । केटाकेटामा बढी पिङ खेल्ने रहर हुन्छ । त्यसैले हाम्रा पुर्खाले पिङको परम्परालाई संस्कृतिका रूपमा निरन्तरता दिएका हुन्,” संस्कृतिविद् रामप्रसाद फुयाँल भन्छन्, “तर हाम्रो संस्कृतिमा हिजोआज विकृति घुसेको छ । संस्कार र संस्कृतिले हामीलाई अरूभन्दा पृथक् पनि राख्ने भएका कारण हामीले हाम्रा यस प्रकारका परम्परालाई जोगाइराख्नुपर्छ ।
वर्षमा एकपटक आफ्नो भारबाट पृथ्वीमातालाई छुट्कारा दिनुपर्छ भन्ने शास्त्रीय मान्यताअनुरूप दसैंमा पिङ खेल्न थालिएको हो । हाम्रा धार्मिक ग्रन्थ रामायण, श्रीकृष्णचरित्र एवम् महाभारतमा समेत राम एवम् कृष्णले पिङमा खेलेका थुप्रै प्रसङ्ग पाइन्छ । त्यसैले पिङको धार्मिक महŒव रहेको पनि आकलन गर्न सकिन्छ ।”
स्थानीय परिवेशले पनि पिङको नामकरणमा प्रभाव पारेको देखिन्छ । नेपालको बैतडी, डोटी र कैलालीतिर पिङलाई लठे भनिन्छ । यसलाई मनाङतिर काँकर भनिन्छ । पिङ हाल्ने, खेल्ने र मनोरञ्जन गरी आपसी सद्भाव साट्ने पर्वका रूपमा हिन्दू धर्मावलम्बीले दसैंलाई लिन्छन् । सबै धर्मावलम्बीले पिङ खेलेर मनोरञ्जन लिने गरेको पाइन्छ । तर आजकाल यसको प्रचलन हटेको देख्दा भने दुख लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्