नेपाली महिला उद्यमी सम्मेलनको तयारी पूरा «

नेपाली महिला उद्यमी सम्मेलनको तयारी पूरा

भोलि शुक्रबारका दिन वीरगन्जमा आयोजना गर्न लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको छ । मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगन्जमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगन्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा आयोजना हुन गइरहेको सम्मेलनको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । सम्मेलनले महिला उद्यमशीलता प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । ।
सम्मेलनको उद्घाटन वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्ष्यमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने आयोजकको दाबी छ । उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने उनीहरूको भनाइ छ ।
उद्यमका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपहरूलाई प्रोत्साहन गर्नु पनि सम्मेलनको मूल अभिप्रायका साथ महिला उद्यमशीलता प्रवद्र्धन र प्रोत्साहनका लागि १० जना महिला उद्यमी र स्टार्टअपलाई सम्मानित गरिने कार्यक्रम पनि छ । उद्यम व्यवसायका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपलाई गरिने यो सम्मानबाट उद्यमशीलता प्रवद्र्धनमा प्रोत्साहन मिल्ने विश्वास लिएको नेपाली युवा उद्यमी फोरम वीरगन्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।
आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउने उद्देश्यअनुसार महिला उद्यमशीलता प्रवद्र्धनका लागि सम्मेलन आयोजना गरिएको र सम्मेलनबाट महिलाहरूमा उद्यमशीलतासँगै आइपर्ने चुनौतीहरूको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए ।
सम्मेलनमा १०० भन्दा बढी महिला उद्यमीको सहभागिता रहने र विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया समेत आयोजना हुनेछ । उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने सम्मेलन आयोजक समितिका संयोजक मनिषा सुनुवार श्रेष्ठले बताइन् ।
सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने उनको भनाइ छ । उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्दछन् भने स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु सम्मेलनले बनाउने श्रेष्ठको दाबी छ ।
सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरूमा मार्फत रचनात्मक पहल गरिने आयोजकको भनाइ छ । उद्यममा महिलाहरूको सक्रिय सहभागितामार्फत देशको अर्थतन्त्रमा योगदान पु¥याउने अभिप्राय लक्षित सम्मेलन रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्