लमजुङबाट तीन हजार खसीबोका निर्यात «

लमजुङबाट तीन हजार खसीबोका निर्यात


व्यावसायिक बाख्रा पालनका निम्ति राम्रो सम्भावना रहेको लमजुङमा दसैंका बेलामात्रै करिव तीन हजारको हाराहारीमा खसीबोका निर्यात भएको छ । जिल्लास्थित भेटनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार लेकाली क्षेत्रमा रहेका गोठ, जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी एवं व्यक्तिगत बाख्रा फार्महरुबाट सो संख्यामा खसीबोका बिक्री भएका हुन् ।
कार्यालयका अनुसार जिल्लाको उच्च लेकमा रहेका गोठहरुबाट मात्रै एक हजार पाँच सयको हाराहारीमा खसीबोका बिक्री भएको अनुमान गरिएको छ । सोबाहेक विभिन्न सहकारी एवं व्यक्तीले सञ्चालन गरेका बाख्रा फार्महरुबाट पनि ठूलो संख्यामा खसीबोका बिक्री भएको पशुसेवा कार्यालय लमजुलका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।
कार्यालय प्रमुख डा. श्रेष्ठका अनुसार जिल्ला भित्रको माग भन्दा बढी भएर सो सँख्यामा खसीबोका बाहिरी जिल्लामा निर्यात भएको हो । जिल्ला बाहिर निर्यात भएका खसीबोकाको विवरण अनुमान गरिएपनि जिल्ला भित्रै बिक्री भएका खसीबोकाको अनुमान भने गर्न नसकिएको डा श्रेष्ठले बताए ।
दूध र माछा उत्पादनमा आत्मनिर्भर नभएपनि लमजुङ जिल्ला मासु र अण्डमा भने आत्मनिर्भर रहेको तथ्यांकले देखाएको छ । जिल्लामा तीन हजार पाँचसय ५८ मेट्रिक टन मासु माग भएपनि चार हजार एक सय पाँच मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । प्रत्येक वर्ष पाँच सय ४७ मेट्रिक टन मासु जिल्ला बाहिर निर्यात हुने गरेको तथ्यांकले देखाएको छ ।
लमजुङमा मासु प्रायोजनका लागि अत्याधिक रुपमा कुखुरा बाख्रा, भेडा बँगुर पालिएका छन् । अघिल्लो वर्षको तथ्यांकअनुसार जिल्लामा दुई लाख ५७ हजार नौ सय ४० कुखुरा पालिएका छन् भने एक लाख ८० हजार ७३ बाख्रा, १२ हजार सात सय ३२ भेडा र चार हजार चारसय ५७ बंगुर पालिएको पशुसेवा कार्यालयको तथ्यांक छ ।
कृषि तथा पशुपालनमा राम्रो सम्भावना भएर पनि लमजुङमा पशुजन्य उत्पादन मध्ये मासु र अण्डा पर्याप्त उत्पादन हुने गरेको छ । तर दूध र माछा उत्पादनमा भने लमजुङ अझै आत्मनिर्भर बन्न सकेको छैन । कार्यालयका अनुसार जिल्लामा अझैपनि माग भन्दा सात सय ३० मेटिक टन दूध र एक सय २७ मेट्रिक टन माछा कम उत्पादन हुँदै आएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्