प्रवासी म्याग्देलीबाट जिल्लामा साढे २ करोड बढी भित्र्यायो «

प्रवासी म्याग्देलीबाट जिल्लामा साढे २ करोड बढी भित्र्यायो

रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा बिदेसिएकाले म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले दुई वर्षका अवधिमा जन्मथलोको सामाजिक क्षेत्रमा २ करोड ६० लाख रुपैयाँभन्दा बढी सहयोग भित्रिएको छ । मोनाले सन् २०१९ देखि २०२१ को हालसम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सहयोग भित्रिएको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले सार्वजनिक गरेका थिए ।
विश्वका विभिन्न देशमा रहेका जिल्लावासीले पहिरोपीडितको घर पुनर्निर्माण, कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री र प्रवासमा समस्यामा परेका म्याग्देलीको उद्धारमा सहयोग गरिएको जानकारी दिए । मोनाले २ करोड जुटाएर बर्खामा पहिरोले भत्काएका ४० घर पुनर्निर्माण गरेर गत असारमा सम्बन्धित पालिकामार्फत पीडितलाई हस्तान्तरण गरेको थियो । धौलागिरिमा १४, मालिकामा १०, अन्नपूर्ण, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा चार÷चार तीनकोठे, शौचालय र खानेपानी सुविधासहितको घर मोनाले बनाएर हस्तान्तरण गरेको छ ।
प्रवासमा जेलमा परेकालाई छुट्याउने, अलपत्रलाई उद्वार गरेर घर फर्काउने, रोजगारीमा लगाउने लगायतको काम मोनाले गर्दै आएको मोना आईसीसीका महासचिव विक्रम कार्कीले जानकारी दिए । मोनाको अघिल्लो कार्यसमितिले बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघको लागत साझेदारीमा ८० लाख रुपैयाँ लगानीमा बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग बनाएका र ४० वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गरेका थिए ।
जिल्लाका पर्यटकीय स्थलमा होटल, जलविद्युत् आयोजना, फलफूल र जडीबुटी खेती तथा पशुपालन व्यवसायमा प्रवासीको लगानी भित्र्याउने गुरु योजना बनाउने तयारी भइरहेको जानकारी दिए। प्रवासी म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणाधीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्