Logo

चरिकोट रंगशालाको रुप फेरिँदै


कोभिड–१९ को महामारी संसारभर हुदैनथ्यो भने चरिकोट टुँडिखेलमा यो समयमा विभिन्न खेलकुदका कार्यक्रम भइरहन्थे । तर महामारीकै कारण अहिले खेलकुदका कार्यक्रम ठप्प भएका बेला चरिकोट टँुडिखेल विस्तार र अत्याधुनिक बनाउने कामले तीव्रता पाएको छ ।
भीमेश्वर नगरपालिकाको आफ्नै स्रोतबाट निर्माणाधीन टुँडिखेल आयोजनालाई नगरपालिकाले आफ्नो गौरवकै योजनाको रूपमा अघि बढाएको छ । ११० मिटर लम्बाइ र ६५ मिटर चौडाइको टुँडिखेल विस्तारको काम जारी छ ।
भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का टुँडिखेल विस्तार भीमेश्वर नगरपालिकाको गौरवको आयोजनामध्ये प्रमुख भएको बताउँछन् । पहिलो चरणको काम यसै वर्षभित्र पूरा गरी दोस्रो चरणको सुरु हुने उनले बताए । नगरपालिकाले अघिल्लो आर्थिक वर्षको अन्त्यमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले पहिलो चरणको २४ महिनामा पूरा गर्ने गरी २०७७ साउन २५ बाट सम्झौता गरी काम सुरु गरेको छ । अहिले दक्षिणतिरको ११० मिटर लम्बाइको जग खनेर भवन निर्माणको काम जारी छ ।
पहिलो चरणमा दक्षिण र पूर्वतिरको दुई तले भवनसहितको अत्याधुनिक आरसीसी प्यारापिट निर्माण हुने उनले बताए । टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेकोमा पहिलो चरणमा १२ करोड लागत छ ।
दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वानको तयारी नगरपालिकाले गरेको छ । दोस्रो चरणमा उत्तरतिरको प्यारापिट, खेल मैलान र टिकट काउन्टर, अतिथि आसनलगायतका संरचना तयार हुन्छ । अहिलेको टुँडिखेल फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुनेछ ।
टुँडिखेलको निर्माण पूरा भएपछि राष्ट्रियस्तरको खेलहरू नियमित गर्न सकिने र यसले चरिकोटमा खेल पर्यटकहरू आउँदा आर्थिक विकासमा सहयोग पुग्ने नगरपालिकाले अनुमान गरेको छ । भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतका अनुसार टुँडिखेलको दक्षिणी लम्बाइमा २५।२५ मिटरको दुईवटा र ३०।३० मिटरको दुईवटा ब्लक निर्माण हुन्छन् । बाहिरतिर ४० वटा व्यापारिक सटर निकालेर दुई तलाको भवन र त्यसमाथि प्यारापिट निर्माण हुन्छ ।
चरिकोटलाई खेल पर्यटनको गन्तव्य बनाउनका लागि पनि भीमेश्वर नगरपालिकाले टुँडिखेल विस्तार र कभड हल निर्माण गरिरहेको छ । टुँडिखेलको पूर्वतिर भने भूमिगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय, बाथरुम खेलकुदका कार्यालय राख्ने कोठा निर्माण हुनेछन् । पूर्वतिर गौरीशंकरसहितका रोल्वालिङ हिमश्रृंखला हुने भएकाले हिमाल नछेकिने गरी भवनभन्दा माथि ४ तहको सिट भएको प्यारापिट हुनेछ । निर्माणाधीन टुँडिखेलमा दशरथ रंगशालामा भएका सम्पूर्ण संरचना तयार हुनेछन् ।
दोलखा पर्यटक लक्षित व्यवसाय गर्ने जिल्ला हो । पर्यटकका सुविधाका लागि होटलहरू खुलेका छन् । खान बस्नको कुनै समस्या छैन । संघीयताका कारण ९ स्थानीय तहमा सेवा बाँडिदा सदरमुकाम चरिकोटको बजार पनि घटेको छ । तर भीमेश्वर नगरपालिकाको आफ्नो गौरवको योजनाको रूपमा राखेको टुँडिखेल र कभड हल पूरा भएपछि पर्यटक बढ्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्काले बताए । खेलकुदका पूर्वाधार विकास हुँदा खेलकुदको विकास गर्न सजिलो हुने उनले बताए ।
नगरपालिकाले खेलकुदको हवको रुपमा चरिकोटलाई विकास गर्न खोजेको छ । प्यारापिटसहितको रंगशालासहित कभड हल पनि निर्माण अन्तिम चरणमा पु¥याएको छ । खेलमैदान निर्माणाधीन अवस्थाका कारण दुई वर्षयता चरिकोटमा फुटबललगायतका खेलकुद ठप्पजस्तै छन् । तर चरिकोट टुँडिखेल र कभड हल पूरा भएपछि फुटबल, भलिबल, ब्याडमिण्टन, टेनिस, मार्सल आर्ट, बास्केट बलजस्ता खेल प्रतियोगिता जुनसुकै बेला पनि गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्