वडा र पालिका अधिवेशन एकैपटक गर्नु हुँदैन : शाक्य «

वडा र पालिका अधिवेशन एकैपटक गर्नु हुँदैन : शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडान समेत राखिन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।
नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् । उनले आफूले पार्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहो¥याइन् ।
उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यकता औंल्याइन् । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो । उपाध्यक्ष शाक्यले बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्