मनसुनपछिको वर्षाले धानबाली नष्ट «

मनसुनपछिको वर्षाले धानबाली नष्ट



धानबाली भित्र्याउने समयमा परेको पानीसँगै आएको बाढीले काटेको धान बगाएको र डुबाएको छ । धेरै जिल्लामा पाकेको धान खेत बगाएको छ । कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगट्छ भने त्यसमा पनि सबैभन्दा धेरै प्रतिशत हिस्सा धानको देखिन्छ । चालू आर्थिक वर्षमा धान रोप्ने बेलामा र रोपेपछि राम्रो वर्षा भएकाले उत्पादन बढ्ने सम्भावना देखिएको भए पनि पहाडी क्षेत्रबाहेक पूर्वीतराई, मध्यतराई, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धानखेती राम्रो हुने जिल्ला र क्षेत्रमा कुसमयको वर्षाले क्षति पु¥याएको हो ।
धान काटे पनि कुन्यू लगाउन नपाउँदा धान बालीमा ठूलो क्षति पुगेको हो । यसले यो वर्ष धान उत्पादन कम हुने, खाद्य संकट निम्तिने र आगामी वर्ष धान आयातसमेत बढ्ने सम्भावना पनि देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान कुहिएको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । धनगढीस्थित कारोबारकर्मी मुकेश चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत धान कुहिएको छ । बेमौसमको भारी वर्षाका कारण भिजेर कैलाली र कञ्चनपुरको २५ प्रतिशत धान पूर्णरुपमा नोक्सान भएको छ । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार अन्नको भण्डारको रूपमा रहेको कैलाली र कञ्चनपुरमा २० देखि २५ प्रतिशत धान काम नै नलाग्ने गरी कुहिएको छ ।
वर्षासँगै धानबाली क्षतिको अनुगमनमा रहेको निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले सो मात्रामा धान कुहिएको प्रारम्भिक अनुमान गरेको छ । कृषि विकास निर्देशक यज्ञराज जोशीले काटेर सुकाएको, मुठा पारेको र कुन्यु लगाएको धान पूर्णरुपमा क्षति भएको भेटिएको जनाए । उनले सुकाएको, मुठा पारेको र कुन्यु लगाएको धान पूर्णरुपमा कुही सकेको र उम्रिएको बताए । “खडा धानमात्रै सुरक्षित देखिएको छ,” निर्देशक जोशीले भने, “काटेर सुकाएको र मुठा पारेको धान कुहिएको र उम्रिएको देखिएको छ । कुन्यु पनि बफाइरहेको देखिन्छ । कुन्युमै पनि हामीले धान उम्रिएको देख्यौं ।”
पर्सामा २० प्रतिशत धानबाली क्षति पुगेको वीरगञ्जस्थित कारोबारकर्मी नीरज पिठाकोटेले जनाएका छन् । मनसुन बाहिरिएपछि परेको बेमौसमी पानीले अन्नको भण्डारमा क्षति पुगेको छ । कृषि उत्पादनमा उर्वर रहेको प्रदेश २ अन्नको भण्डारमा पाक्न लागेको धानमा क्षति पु¥याएको छ । पर्सामा २० प्रतिशत धानमा क्षति पु¥याएको छ । देशभर ठूलो धनजनको क्षति हुने गरी परेको झरीले पर्सामा धानको पकेट क्षेत्र भएको स्थानहरूमा क्षति पु¥याएको हो ।
कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम ‘धान पकेट क्षेत्र’ सञ्चालनमा गरिएको पर्सागढीमा सोना मनसुली धानमा बढी पु¥याएको पर्सागढी नगरपालिकाका कृषि अधिकृत खडकबहादुर खत्रीले बताए । पर्सागढी नगरपालिकामा सोना मन्सुली धानको बोट पानीले ढलेको र यसमा दाना लाग्न पाएन भने नोक्सानी हुने उनले बताए ।
सामान्य क्षतिबाहेक खासै क्षति नपु¥याएको उनले बताए । कृषि ज्ञान केन्द्र पर्साका बाली प्रसार अधिकृत समसुल हक मियाँ दर्जीका अनुसार समग्र जिल्ला भरमा २० देखि ३० प्रतिशत जति धानमा नोक्सानी भएको छ ।
चितवनस्थित कारोबारकर्मी विप्लव काफ्लेका अनुसार बेमौसममी झरीले चितवनमा २१ प्रतिशत धानखेत डुबानमा परेकोछ । काटेका तथा झुलेका धानबाली डुबानमा परेकाले कृषक चिन्तित छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका कृषि अधिकृत माधव पौडेलका अनुसार जिल्लामा एक हजार नौ सय सात हेक्टर क्षेत्रफलमा काटेको धान डुबानमा परेको छ । वर्षाले १३ प्रतिशत धान ढलेको छ भने तीन हजार ६८ हेक्टरमा लगाइएको धान ढलेको पौडेलले बताएका छन् ।
जुम्लास्थित कारोबारकर्मी सागर परियारका अनुसार १८ हेक्टर धानखेतमा क्षति पुगेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ । बाढीले जुम्लाको करिब १८ हेक्टर मार्सीधान खेतमा क्षति गरेको पाइएको छ । कृृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले गरेको अध्ययनमा १८ हेक्टर अर्थात् तीन सय ६० रोपनी धानबाली, १२ वटा स्याउ बगैंचामा क्षति पुगेको हो । जुम्लामा २९ सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ ।
यस्तै, भैरहवाबाट मनोरञ्जन शर्माका अनुसार गत सोमबारदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशमा हजारौं हेक्टरमा लगाइएको धान नष्ट भएको छ । काटेर खेतमा राखिएको धान अविरलको वर्षात्पछि डुबाउँदा नष्ट भएको हो । दसैंलगत्तैको वर्षात्ले किसानको भित्र्याउन तयार धान नष्ट हुँदा किसान दुःखित छन् ।
लुम्बिनी प्रदेशमा ठूलो परिमाणमा धानबालीमा क्षति पुगेको छ । प्रदेश कृषि निर्देशनालयले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा लगाइएको ३६ हजार ४ सय ८० हेक्टर खेतका धान बिग्रेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका कृषि ज्ञान केन्द्रबाट संकलन गरेको तथ्यांकअनुसार प्रदेशमा कुल ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धानखेती भएकोमा वर्षा सुरु हुनु अगाडि नै ५५ हजार ५४ हेक्टरबाट किसानले धान भित्र्याइसकेको प्रदेशको कृषि निर्देशनालयले दाबी गरेको छ ।
भित्र्याउन बाँकी रहेको ९३ हजार ५ सय ७६ हेक्टरमा काट्ने तयारीमा रहेको धानको बाला ढलेको अवस्थामा रहेको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए ।
काट्न बाँकी रहेको मध्ये ५७ प्रतिशत धानबालीमा क्षति पुगे पनि बाँकी ४३ प्रतिशत धानबालीमा क्षति नपुगेको र मौसममा सुधार भएपछि भित्र्याउन सकिने अवस्थामा रहेको निर्देशनालय प्रमुख देवकोटाले बताए ।
क्षति नपुगेको धानको अवस्था भनेको काट्न बाँकी रहेको धानमा क्षति नभएको र हावाले पल्टिएको धान वर्षा कम भएपछि उठाउन मिल्ने कार्यालयको भनाइ छ । किसान भने सरकारले हचुवा तालमा तथ्यांक निकालेको र तत्काल क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । ‘अर्ली भेराइटि’का धान काटेर राखिएको अवस्थामा नष्ट भएका हुन् । ‘लेट भेराइटि’का धान भने पाक्ने तरखरमा छन् ।

— जिल्ला ब्युरो

प्रतिक्रिया दिनुहोस्