विराटनगर विमानस्थल बन्द «

विराटनगर विमानस्थल बन्द


अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल बन्द भएको छ । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पानी जमेको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए । उनले भने, “विमानस्थलभित्र ३ देखि ४ फिटसम्म पानी जमेको छ । पानीले विमानस्थलमा लेदोसमेत ल्याएको छ ।”
अत्यधिक वर्षा र नजिकका खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न भएको जनाइएको छ । बुधबार राति पानी नपरे बिहीबार विमानस्थल सफा गर्ने योजना रहेको र पानीको निकासपछि मात्र उडान सुचारु हुने खरेलले बताए । विमानस्थल कार्यालयले बिहीबार साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द गरेको छ ।
विराटनगरमा विगत दुई दिनदेखि परेको पानीका कारण विराटनगर विमानस्थल पूरै डुबानमा परेको थियो । टर्मिनल भवन, एप्रोन, धावनमार्ग, निवास जलमग्न भएकाले एक्सरे मेसिन, जेनरेटर, रन्वे लाइट सबै डुबानमा परेका छन् । पानीको सतह घटेपछि मात्रै इक्विपमेन्टको अवस्थाबारे वास्तविकता थाहा हुने खरेलले बताए ।
विराटरनगरस्थित कारोबारकर्मी मीनकुमार नवोदितका अनुसार प्रदेश नम्बर १ मा बाढीपहिरोले २४ जनाको मृत्यु भएको छ ।
यस्तै सोमबार रातिदेखि परेको अविरल वर्षाले प्रदेश राजधानी विराटनगरसहित पूर्वका अधिकांश सहर, बजार र ग्रामीण क्षेत्र डुबानमा परेका छन् । पानीको निकास थुनिँदा विराटनगरको दक्षिण क्षेत्र बढी मात्रामा डुबानमा परेको छ ।
सडकमा पानी जमेर आवतजावतमा समेत समस्या भएको छ । लगातारको वर्षाका कारण केसेलिया खोलाको बाढी विराटनगर–१२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका करिब पाँच सय घर डुबानमा परेको १२ का वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्