राजनीतिक हस्तक्षेपमुक्त एनआरएनएको चाहना «

राजनीतिक हस्तक्षेपमुक्त एनआरएनएको चाहना

एनसीसी विवादका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । निर्वाचन प्रतिनिधि चयनका विषयलाई लिएर परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरिएको छ ।
परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको छ । कानुनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी महाधिवेशनको नयाँ मिति ६ महिनापछि गर्ने भनिएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइसकेका छन् । यससँगै एनआरएनएको वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप भएको छ ।
६ महिनाभित्र एनआरएनएको अधिवेशन गर्ने गरी कार्यकाल थप गरिएको संघले जनाएको छ । विधानअनुसार कार्यसमितिको कार्यकाल एकपटकका लागि मात्रै ६ महिना अवधि थप्न सकिने व्यवस्था भए पनि यसको समेत विवाद उत्पन्न भएको छ । एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।
महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय भएको छ ।
निर्धारित समयमा नै निर्वाचनका लागि कुल आचार्य, रविना थापा र डा. बद्री केसीले एनआरएनएको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
तर, पहिलो पटक एनआरएनएमा परराष्ट्र मन्त्रालयको प्रत्यक्ष हस्तक्षेपपछि गैरआवासीय नेपाली संघमा निर्धारित मितिमा निर्वाचन हुन सकेन । यस सम्बन्धमा संस्थामा लामो समय योगदान गरेका अभिमन्यु बस्नेत, अम्रिता थापा (कञ्चन) र विनय अधिकारीसँग कारोबारले गरेको कुराकानीको सार :

एनआरएनहरू संस्थामा राजनीतिक हस्तक्षेप चाहँदैनन्
अभिमन्यु बस्नेत
सहकोषाध्यक्ष पदको उम्मेदवार
एनआरएनए विश्वभर रहेका नेपालीहरूको पवित्र परोपकारी संस्था भएकाले नेपाली जनता र विश्वभर रहेका नेपालीले यसलाई आशाको धरोहर मानेका छन् । स्थापनाकालमा संस्थालाई जुन उद्देश्य र लक्ष्यसहित अग्रजले स्थापना गरेका थिए, पछिल्लो समय त्यो बाटो बिराउँदै गएको देखिन्छ । संस्थाले नेपाल र नेपालीको सहयोगका जस्ता कार्यक्रम बढाउँदै लगेका छन् त्यहीअनुसार संस्थाको आफ्नो संस्थागत विकास भने हुन नसकेको पाइएको छ ।
पछि केही वर्षयता संस्थामा राजनीतीकरणका कारण विवाद आएकोमा सबैको गुनासो रहेको छ । विदेशमा रहेका लाखौं नेपाली र स्वदेशमा रहेका करोडौं नेपालीको आशाको केन्द्रका रूपमा रहेको संस्थामा विवाद आउनु दुर्भाग्यपूर्ण कुरा हो । यो हामीबीचको विवाद हामी आपैंm छलफल गरेर समाधान गर्नुपर्छ भन्ने हो । मेरो नेपालका राजनीतिक पार्टीहरूलाई के अनुरोध छ भने संस्थामा अनावश्यक हस्तक्षेप नगर्नुहोला । राजनीतिक हस्तक्षेप छैन भनिए पनि यसको परिणाम भने देखिन थालेको छ । विदेशमा बस्ने एनआरएनहरू राजनीतिक हस्तक्षेप चाहँदैनन् भन्ने सन्देश दिनु जरुरी छ । भित्र राजनीति गरेर भोट माग्नेलाई मतदाताहरूले भोट दिनु हुँदैन धन्ने मेरो मान्यता हो ।
एनआरएनएलाई नेपालीहरूको साझा, विश्वसनीय, भरपर्दो, पारदर्शी र व्यवस्थित संस्था बनाई नेपाल र नेपालीको विकास र समृद्धिको संवाहक बनाउनुपर्छ । यसैगरी अन्तरिक लेखाप्रणाली र हिसाब–किताबलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउनु आवश्यक छ । म विगत १४ वर्षदेखि क्यानडाको टोरन्टो सहरमा बस्दै आएको भए पनि एनआरएनए संस्थालाई सम्झेर सधैं सामाजिक कार्य र संस्थाको विकासका काम गरें । १२ वर्षदेखि एनआरएनए क्यानडाको साधारण सदस्य भई २०१३–२०१५ मा क्यानडाका उपाध्यक्ष भई आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरी एनआरएनए अवार्डबाट पुरस्कृत भइसकेको छु । नेपालमा भूकम्प गएको बेलामा क्यानडाबाट नेपालको भूकम्पपीडीतको सहयोग गर्नमा प्रमुख भूमिका खेलको थिएँ । २०१५–२०१७ मा एनआरएनए आईसीसीको पर्यटन प्रवद्धनको ‘अतिथि देवो भवः’ को सदस्य भई नेपालका लागि पर्यटन प्रवद्र्धनको कार्य र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ कार्यमा पनि काम गरिसकेको छु । २०७३ सालमा नेपालको तराईमा गएको भीषण बाढीमा बाढीपिडितलाई राहत वितरण गर्न एनआरएनएबाट सहयोग गर्न तत्कालीन अध्यक्ष शेष घलेसँगै फिल्डमा गई ८ दिन राहत वितरणमा एनआरएनएको तर्पmबाट मुख्य भूमिका खेलेको थिएँ । मैले एनसीसी र आईसीसीबाट भएको हरेक सामाजिक र सहयोग रकम संकलनमा मेरो भूमिका रहँदै आएको छ । एनआरएनए सचिवालय भवन निर्माण, शंखमूल पार्क र लार्पाक बस्ती निर्माणमा प्रत्यक्ष रूपमा सहभागी हँुदै आएका छौं ।
कोभिड–१९ मा पनि क्यानडाबाट नेपाललाई स्वास्थ्य सामग्री र आक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन ल्याउन सहयोग गरेको थिएँ । मैले विगत १२ वर्षदेखि क्यानडा आउने नेपालीहरूलाई सहयोग गर्दै आइरहेको छु । मलाई गत वर्ष मेरो कार्यको मूल्यांकन गर्दै क्यानडाको स्थानीय सरकारले अवार्डद्वारा सम्मान गरेको थियो ।
संस्थामा आर्थिक पारदर्शिताका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला मैले आईसीसी सह–कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु । आर्थिक पारदर्शिता र स्वावलम्बी रोजगार, विदेशबाट फर्केका युवाहरूका लागि एनआरएनएले विशेष आर्थिक प्याकेजको घोषणा गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ । विशेष गरेर कृषि र साना व्यवसायको विकासमा काम गर्ने योजनासहित विभिन्न कार्यक्रम ल्याउनुपर्छ भन्ने हो ।
एनआरएनएलाई सबै नेपालीको साझा संस्थाको रूपमा विकास गर्न आर्थिक पारदर्शिता, राजनीतिक हस्तक्षेपरहित, स्वतन्त्र एनसीसी, विधानसम्मत सामूहिक निर्णय, सबैको सहभागितामूलक निर्णयजस्ता विषयलाई अघि बढाउनुपर्छ । वैदेशिक रोजगारीमा गएका श्रमिक, युवा र महिलाको सहयोगका लागि विभिन्न कार्यक्रम ल्याएर संस्थालाई सबैको समान प्रतिनिधित्व हुने संस्थाको रूपमा विकास गर्नुपर्ने बेला आएको छ । अबको नेतृत्वले सामूहिक निर्णयलाई आत्मसात् गरेर सबैको सुझावका आधारमा संस्थालाई अघि बढाउनुपर्छ ।

एनआरएनए गौरव गर्ने संस्था हो, विवाद गर्ने होइन
अम्रिता थापा (कञ्चन)
एसिया प्यासिफिक महिला संयोजक
एनआरएनए एउटा पवित्र गैरराजनीतिक, गैरधार्मिक, गैरनाफामूलक परोपकारी संस्था हो । संस्थाको स्थापनाकालमा अग्रजले जुन अवधारणाका साथ संस्था स्थापना गर्नुभएको थियो, त्यसलाई अझ मजबुत बनाउनुपर्ने अवस्था आएको छ । संस्थाप्रति आमनेपाली र विदेशमा रहेका लाखौं नेपालीको भावना जोडिएका कारण यसलाई विवादमुक्त बनाउनुपर्ने चुनौती रहेको छ । अहिले आएर संस्थाको गौरव खस्कँदै गएको भन्ने साधारण सदस्यको गुनासो छ ।
संस्थाको गौरव र साखमा आँच ल्याउन एक जनाको मात्र नभई हामी सबैको कमजोरी रहेको देखिन्छ । यसमा कसैलाई दोष लगाउने भन्दा पनि यसको हामी सबैले जिम्मेवारी लिएर अब संस्थालाई एक ढिक्का बनाएर लैजानुपर्ने प्रण गर्ने बेला आएको छ । संस्थामा कमजोर हुँदै गएको विषयमा सबैले धेरै÷थोरै जिम्मेवारी लिनुपर्ने हुन्छ । मैले पनि संस्थालाई राम्रो गर्ने कुरामा सहयोग गर्न सकिनँ कि जस्तो लाग्छ । संस्था यस्तो अवस्थामा आउनुमा विगतदेखि वर्तमानसम्मका सबै नेतृत्वले जिम्मेवारी लिनुपर्छ । तर, अहिले संस्था कमजोर भएको विषयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि विषम परिस्थितिमा सबै एक भएर संस्थाको गौरवलाई जोगाउनुपर्छ । यो अवस्था हामी आपैंmले सिर्जना गरेका कारण हामीले नै समाधान खोज्नुपर्छ । एकपटक हामी सबै एक भएर संस्थाको गौरव जोगाउन छलफल गर्नुपर्छ । यसका लागि चुनावी अभियानभन्दा टाढा बसेर छलफल गर्नुपर्छ । चुनाव लोकतान्त्रिक पद्धति भएकाले यसलाई पनि सँगै लैजानुपर्छ । चुनावको हारजित र परिणामभन्दा संस्था ठूलो हो भन्ने मान्यतालाई उच्च ठानेर अघि बढ्नुपर्छ ।
संस्थाको विषयलाई परराष्ट्र मन्त्रालयसम्म जाने अवस्था पनि हामी आपैmंले सिर्जना गरेको हो । यो विषय परराष्ट्र मन्त्रालयमा लैजानुहुने थियो कि थिएन भन्ने विषयमा म केही भन्न चाहन्नँ, तर संस्थालाई सबै मिलेर अघि बढाउनुपर्ने अवस्था हुनुपर्ने थियो । एनआरएनएले नेपालमा कोरोना संक्रमण हुँदा उद्धार, सहयोग र राहतका परोपकारी काम गरेर स्याबासी पाइरहेको बेला संस्थामा विवाद नआउनुपर्ने थियो । संस्थाले सबै राम्रो काम गरिरहेका बेला विवादमा आउने अवस्था सिर्जना नभएको भए अझ राम्रो हुने थियो । संस्थाले पुरस्कार पाउने बेलामा विवाद भएको छ ।
चीनबाट नेपालमा कोरोना संक्रमणका बेलामा सुरुमा नै सहयोग गर्ने मौका मिलेको थियो । सहयोगका कारण धेरै नेपालीलाई बचाउन सफल भएको संस्था अहिले आएर विवादमा फसेको अवस्था छ । आज यस्तो कामको समीक्षा गरेर पुरस्कृत हुने बेलामा संस्थामा विवाद देखिएको छ । कसैकसैबाट कमी–कमजोरी भयो होला तर संरक्षक र अग्रजले यस्तो बेला संस्थालाई मिलाएर लैजाने वातावरण तयार गर्नुपर्छ । विवाद आएर परराष्ट्र मन्त्रालय जानुपर्ने बाध्यता भयो होला, तर त्यो परिस्थिति पनि आउन दिनु हुने थिएन । जे भए पनि समस्या सतहमा आएका छन् । कमी–कमजोरी भएर परराष्ट्र जानुपर्ने अवस्था भयो होला । तर बीचमा समस्यालाई मिलाउने वातारण बनाउनुपर्छ ।
पहिला एनआरएनएप्रति सबैले गौरव गर्ने भए पनि हाल आएर परिस्थिति अर्को भएको छ, तर पनि केही बिग्रेको भने छैन । हाम्रो संस्थाको काम सामाजिक कार्य गर्ने हो । सामाजिक काम गर्ने संस्थामा विवाद आउनु राम्रो संकेत होइन । हामीले अरूका लागि राम्रो काम गरे पनि आफ्ना समस्या भने रुमल्लिएर बसेका छौं । अहिले हाम्रो मुख्य दायित्व भनेको समयमा निष्पक्ष चुनाव गराउनु हो । सबै पक्षले चुनावी बाटोमा जानुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्छ । नेतृत्वमा जो आउने भए पनि सबै अभियन्ता नै हुन् । अहिले भर्खर देशभर बाढीपहिरो आएको छ । यस्तो बेलामा सबै मिल्नुपर्छ भनेर इगो नराखी अघि बढ्नुपर्छ । हिजोको गौरवमय अवस्थालाई जोगाउन अहिले नै सुधार गरेर जानुपर्छ ।

एनआरएनएलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ
विनय अधिकारी
महासचिव पदको उम्मेदवार
नेपालबाहिरको नेपालीको सुखदुःखको साथी एनआरएनएको संस्थागत विकासका लागि सबै एक भएर परोपकारी काममा लाग्नुपर्छ भन्ने मान्यता यसको स्थापना कालदेखिकै हो । विवाद, राजनीतीकरण र स्वार्थबाट माथि उठेर देश र गैरआवासीय नेपालीको सहयोगमा जुट्नुपर्छ । संस्थाको उद्देश्य टुट्नुभन्दा जुट्नु हो भन्ने मान्यतालाई सबैले आदर्श सम्झनुपर्छ ।
गैरआवासीय नेपालीहरू पनि नेपाली नै हुन् र उनीहरू नेपालको समृद्धिका लागि सबै एक भएर जुटिरहेका छन् । मातृभूमिको सुख र दुःखमा हामी जहिले पनि एकजुट र एकसाथमा हुनुपर्छ भन्ने मान्यता रहेको छ । यहाँ आउने विभिन्न चाडपर्व, रीतिरिवाज र परम्परालाई हामीले विदेशमा बसेर पनि जीवित राखेका छौं । मुलुकको अस्थिर राजनीति र आ–आफ्नो कमजोर आर्थिक अवस्थाका कारण हामी विदेशमा रोजगारीका लागि जानुपरेको छ । कोही अध्ययन–अनुसन्धान, कोही जागिर, कोही गोर्खा भर्तीलगायतका विभिन्न कारणले बाहिरिए पनि हामी तपाईंहरूजस्तै नेपाली हौं ।
हाम्रा छोराछोरीले नेपाली भाषा नै बोलिरहेका छन् । उनीहरूको भावनालाई पछिसम्म पनि नेपालसँग जोड्नुपर्छ । नेपालमा भूकम्प जाँदा होस्, बाढीपहिरो वा अन्य कुनै आपत्कालीन अवस्थामा विदेशस्थित हामी नेपालीहरू एक भएर जन्मभूमिलाई सहयोग गर्न तत्पर हुन्छौं । कोरोना संक्रमणका बेला हामीले एक व्यक्ति एक कन्सन्टेटर वा अक्सिजनको नारा लगायौं । नेपालमा विभिन्न अवस्थामा र स्वास्थ्य मन्त्रालयमा ज्वरो जाँच्ने मेसिनदेखि अक्सिजन प्लान्ट राख्नेसम्मको काममा नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गरेको सर्वविदितै छ ।
एक पटकको नेपाली सधैंको नेपाली भन्ने गैरआवासीय नेपाली संघको मूल नारालाई आत्मसात् गर्दै नेपाली नागरिकता, पैतृक सम्पत्तिमा हक–अधिकार, विदेशस्थित नेपालीलाई सर्वाेच्च अदालतको फैसलाअनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकार र पेन्सनका विषयमा एनआरएनएमार्फत नेपाल सरकारसँग निरन्तर संवादमा छौं ।
यस्ता हक–अधिकार र नेपालमा वैदेशिक लगानी भिœयाउने उद्देश्यले निरन्तर काम गरिरहेका छौं । मैले एनआरएनलाई अगाडि बढाउन भूतपूर्व गोर्खा मुद्दालाई कूटनीतिक पहलबाट निष्कर्षमा पु¥याउनुपर्छ भन्ने मान्यताका साथ काम गर्दै आएको छु । त्यसमा म र एनआरएनए जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छ । यसैगरी प्रत्यक्ष निर्वाचनको व्यवस्था डेलिगेट्सको विवादले एनआरएनएको छवी दिनरात खस्कँदो छ । अब हामीले सबै एनआरएनएले भोट हाल्न मिल्ने गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने गरी सहमति गर्नुपर्छ । यसले संस्थामा बेलाबेलामा देखिएको विवादलाई अन्त्य गर्न मद्दत गर्छ । एनआरएनए पवित्र परोपकारी संस्थाको रूपमा परिचित भएका कारण यसमा विवाद आउनु हुँदैन भन्नेबारेमा सबै सचेत हुनुपर्छ । लाखौं सदस्य भएको संस्थामा विवाद आउनु सामान्य कुरा हो । तर, यो विवादलाई कसरी अन्तरिक रूपमा हल गर्नुपर्छ भन्ने कुरामा भने सबैले सोच्नुपर्छ ।
एनआरएनएमा राजनीतिभन्दा पनि राजनीतिक दलहरूसँग लबिङका लागि उच्चस्तरीय समिति निर्माण गरी सम्पत्तिको हक स्थापित गर्न, नागरिकता निरन्तरताको सुनिश्चितता गर्न र नयाँ पुस्तालाई एनआरएनएमा सहभागी गराउने दिशामा काम गर्नुपर्छ । मैले मेरो चुनावी प्रतिबद्धतामा श्रमिकको मुद्दा सम्बोधन गर्न, बेलाबेला देखिने विवाद अन्त्य गर्न स्वायत्त एनसीसी हुनुपर्छ भन्ने विषय उठाउँदै आएको छु । संस्थामा हुने चुनावका नाममा राजनीतिक दलसँग सहकार्य गरेर संस्थाको छवि धमिलो बनाउने काम कसैले गर्नु हुँदैन ।
यसरी नेपालको समृद्धिका लागि यहाँ आउने लगानीको वातावरण बढाउन विभिन्न विकल्प र योजना बनाउनुपर्छ भन्ने हो । यसका लागि विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्ने संयन्त्रको विकास गर्नुपर्छ भन्ने हो । संस्थालाई लामो समयसम्म आफ्नो लक्ष्य र उद्देश्यमा अघि बढाउन युवा तथा महिला सहभागिता बढाउने गरी कार्यक्रम बनाउनुपर्छ । मैले संस्थालाई फरक तरिकाले सञ्चालन गरी सबैको एनआरएनए हो भन्ने भावनालाई समेटेर ग्लोबल कल्चरल भिलेज स्थापना गर्न पहल गर्दै आएको छु । संस्थाको उद्देश्यलाई कायम राख्न राजनीतिक हस्तक्षेपमुक्त बनाउन र सबैको साझा संस्था बनाउन पहल गर्नुपर्ने बेला आएको छ ।
संस्थालाई राजनीतिमुक्त र सबैको हो भन्ने भावनाको विकास गर्न सबै पञ्जीकृत सदस्यहरूले चुनावमा भाग लिन पाउनुपर्छ भन्ने मान्यता हो । यसका लागि आगामी दिनमा संस्थाको विधान नै संशोधन गरेर यसका लागि काम गर्न सकिन्छ भन्ने हो । सबै सदस्यले प्रत्यक्ष रूपमा मतदान गर्ने व्यवस्था गरिँदा हाल देखिएको एनसीसीको विवादसमेत हुने थिएन ।

प्रतिक्रिया दिनुहोस्