बासस्थान गुमाएकालाई ५० हजार, मृत्यु भएका परिवारलाई दुई लाख «

बासस्थान गुमाएकालाई ५० हजार, मृत्यु भएका परिवारलाई दुई लाख


सरकारले बाढीपहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने जानकारी दिए । घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० हजार पनि उपलब्ध गराउने निर्णय भएको छ ।
बुधबार सिंहदरवारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले तीन दिन यता अविरल वर्षाका कारण बासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बुधबार मध्यान्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए । उनले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको पनि बताए ।
प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पु¥याएको स्थानमा आफैं जाने बताएको पनि उनले बताए ।
बैठकमा तत्काल घटना भएका स्थानमा विभिन्न टिमहरु बनाएर तत्काल बास र गाँसको व्यवस्था मिलाउने र क्षतिको विवरण निकालेलगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने भन्दै उनले बाढीपहिरोमा जनधनको ठूलो क्षति भएको कारण किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्