महादेवको मूर्ति अवलोकन गर्न पर्यटकको भिड «

महादेवको मूर्ति अवलोकन गर्न पर्यटकको भिड


धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा २२ पूम्दी भुम्दीको पुम्दीकोटमा निर्माण भइरहेको महादेवको मूर्तिको अवलोकन गर्न आउने पर्यटकको भिड लाग्न थालेको छ । दसैंको अवसरमा आन्तरिक पर्यटकहरुको यतिबेला पुम्दीकोटमा महादेवको मूर्ति अवलोकन गर्न भिड लाग्ने गरेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
सार्वजनिक बिदा र दसैंको अवसरमा दैनिक करिब ३ हजार भन्दा बढी पर्यटक पुम्दीकोट पुग्ने गरेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष समेत रहेका संयोजक बरालले दाबी गरे ।
सिंहआसनमा बसेको ५१ फिट अग्लो महादेवको मूर्ति जडान भएसँगै त्यहाँ पुग्न युवाहरुको आकर्षण बढेको बरालले बताए । पोखरा र आसपासका पर्यटकहरुको पुम्दीकोटमा आगमन सुरु भएको छ भने फाटफुटरुपमा नेपालका विभिन्न जिल्ला हुँदै भारतीय पर्यटकसमेत पुम्दीकोट पुग्न थालेका छन् । ४० करोडको उक्त योजनामा हालसम्म करिब २० करोड रुपैयाँ खर्च भएको अध्यक्ष बरालले बताए । ग्रिनरी पार्क, पार्किङ, तारबार, रेलिङ, स्मृति पार्कलगायतका भौतिक संरचना निर्माण हुने भएको छ ।
केही दिनदेखि मौसमले साथ दिएको हुनाले पनि पुम्दीकोटबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमश्रृंखला देखिनुका साथै उक्त स्थानबाट पोखराको बजार फेवातालसमेतको दृश्य अवलोकन गर्न सकिन्छ । पुम्दीकोटमा हिजोआज पर्यटकको चाप बढेसँगै सडकमा जाम हुन थालेको स्थानीयले गुनासो गरेका छन् ।
पोखरा २२ को वडा कार्यालयसम्म पिच सडक भएपनि त्यहाँबाट पुम्दीकोटसम्म कच्ची सडक भएकाले हाल हल्का सवारी र दुई पाङग्रे सवारी साधन सञ्चालन गर्न केही कठिन हुन थालेको स्थासनय नवराज बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्