डोटीमा फोन र विद्युत् सेवा अवरुद्ध «

डोटीमा फोन र विद्युत् सेवा अवरुद्ध

दुई दिनदेखिको लगातारको वर्षातका कारण जिल्लामा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चारका साधन पनि अवरुद्ध भएका छन् । एनसेल सिमकार्ड भने सञ्चालनमा छ ।
विद्युत् नभएका कारण नेपाल टेलिकमका ल्यान्डलाइन तथा एफटिटिएच (नेट) सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।
विद्युत्सहित नेट सेवा दुई दिनदेखि पूर्ण रुपमा अवरुद्ध भएपछि यहाँका सञ्चारकर्मीले आफ्ना सञ्चार माध्यममा समाचार सम्प्रेषण गर्न पाएका छैनन् भने जिल्लामा रहेका चारवटा एफएम रेडियोहरु पनि बन्द भएका घण्टेश्वर एफएम बुडरका स्टेसन मेनेजर शिव ओलीले बताए ।
जिल्ला नै सञ्चार सम्पर्कविहीन भएका कारण कुन ठाउँमा के कति क्षति भयो त्यसका बारेमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए । उनका अनुसार वर्सातसँगैको पहिराले यहाँको गैरा, रातुली, पाकरी, जोरायल, बडिकेदार, केआईसिंह लगायतका क्षेत्रमा खेतबारी तथा घरमा सामान्य क्षति भएको छ ।

जिल्लामा ठूलो बर्सात भएका कारण यहाँका नदीहरुमा पनि पानीको बहाव बढेकाले नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत राख्न तथा विपद् आइपरे उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बर्सातका कारण यहाँका किसानले काटेका धान पनि बाढीले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पूरै धान डुबाएको छ । हालसम्म बाढी तथा पहिराले मानवीय क्षति भने नगरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
उता, डडेल्धुरामा घरमाथिबाट आएको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्य ुहुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरामा पुरिएर अवस्थीको ज्यान गएको हो । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।
यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरामा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हँुदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।
वर्षा अन्य वर्षको तुलनामा धेरै भइरहेको छ, जोखिम पनि त्यतिकै छ, बाढी पहिराबाट हुन सक्ने क्षेति रोक्न आफँै चनाखो भई सचेत रहन आग्रह गरिएको प्रजिअ मोहनराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्