थप पाँच उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता हुँदै «

थप पाँच उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता हुँदै


मुलुकको निकासी व्यापार प्रवद्र्धनका लागि सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने क्रम बढ्न थालेको छ । हालसम्म निकासीजन्य चार उत्पादनको कलेक्टिभ ट्रेडमार्क दर्ता भइसकेको छ भने अन्य पाँच उत्पादन प्रक्रियामा रहेका छन् ।
उद्योग विभागका अनुसार नेपाल जुट, नेपाल कार्पेट, कफी उत्पादक सहकारीहरुले प्रवद्र्धन गरेको कफी, जुजु धौ लगायत पाँचवटा अन्य उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता प्रक्रियामा रहेको छ । ट्रेडमार्क दर्ता भएको तथा सामूहिक चिन्ह आवेदनकर्ताहरूसँग दर्ता कार्य अगाडि बढाउन सहजीकरण बैठक बसी सकिएको विभागको भनाइ छ । यस्तै, अन्य दुईवटा सामूहिक चिन्ह दावी विरोधको लागि औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरिएको विभागका सूचना अधिकृत ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार, पछिल्लो समय निकासीजन्य उद्योगमा कलेक्टिभ ट्रेडमार्क दर्ता गर्ने विषयमा रुचि र तदारुकता बढेको छ । यससँगै विभागले औद्योगिक सम्पत्तिसम्बन्धी कार्यलाई सरल र सुव्यवस्थित बनाउन कार्यदल गठन गरी अध्ययन गरेको उनले बताए ।
हालसम्म कलेक्टिभ ट्रेडमार्क लिने उद्योगमा चिया, कफी, अलैंची र पश्मिना रहेका छन् । चियाले ‘नेपाल टी’को नाममा ट्रेडमार्क लिएको छ भने कफीले ‘नेपाल कफी’को नाममा कलेक्टिभ ट्रेडमार्क लिएको विभागले जनाएको छ । यस्तै, अलैंचीको ट्रेडमार्क ‘एभरेष्ट बिग कार्डेमम’ को र पश्मिनाको ‘च्यांग्रा पश्मिना’को नाममा कलेक्टिभ ट्रेडमार्क दर्ता भएको छ ।
औद्योगिक सम्पत्ति सम्बन्धी काम कारवाहीलाई थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सम्बन्धमा गठित कार्यदलले पनि सामूहिक ट्रेडमार्क लगायतका वौद्धिक सम्पत्ति सम्बन्धी कानुनलाई समेटेर छुट्टै कार्यदल गठन गर्नुपर्ने सुझाव दिएको छ । विभागका निर्देशक बिन्दा आचार्यसहित कृष्णमान प्रधान, केशवराज गौतम तथा बौद्धिक सम्पत्ति विज्ञका रुपमा रहेका अधिवक्ताद्वय जनक भण्डारी र गौरिशकृष्ण खरेलको समितिले उक्त प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनमा निकासीजन्य उद्योगका लागि सामूहिक प्रतीक चिन्हको सहज व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
सरकारले नेपालका मौलिक उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङमा सामूहिक ट्रेडमार्कलाई उपयोग गर्ने नीति ल्याए पनि हरेक मुलुकमा यसलाई दर्ता गर्नुपर्ने झन्झटिलो व्यवस्थाका कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाहरु बताउँछन् । उनीहरूका अनुसार बौद्धिक सम्पत्ति जगेर्ना गर्न बनेको अन्तर्राष्ट्रिय संस्था ‘वाइपो’ अन्तर्गत ट्रेडमार्कसम्बन्धी म्याड्रिड इन्टरनेसनल प्रणाली र हेग इन्टरनेसनल डिजाइन प्रणालीमा नेपाल आवद्ध हुन नसक्दा सामूहिक प्रतीक चिह्न (कलेक्टिभ ट्रेडमार्क)को व्यवस्था प्रभाकारी बन्न नसकेको हो । विदेशी दातृ निकाय र विकास साझेदारहरूको सहयोगमा ती वस्तुको कलेक्टिभ ट्रेडमार्क दर्ता भएपनि खर्चिलो भएको र लगानीअनुसार प्रतिफल नपाइएको सरकारी अधिकारीहरू बताउँछन् ।
नेपाल निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्काका अनुसार अन्तर्राष्ट्रिय संस्था वाइपोअन्तर्गत ट्रेडमार्कसम्बन्धी म्याड्रिड इन्टरनेसनल प्रणालीमा र हेग इन्टरनेसनल डिजाइन प्रणालीमा नेपाल सहभागी नभएसम्म कलेक्टिभ ट्रेडमार्क कार्यान्वयन असम्भव देखिएको छ । म्याड्रिड र हेग प्रणालीमा नेपाल सहभागी हुनसके सबै मुलुकमा छुट्टाछुट्टै ट्रेडमार्क दर्ता गर्नुपर्ने झन्झट र लागत दुवै नहुने खड्काको भनाइ छ । हाल अमेरिका, क्यानाडा, चीन, अस्ट्रेलिया, डेनमार्क, भारत, बेलायत, जर्मनी, जापानलगायत विश्वका १ सय २१ देश यस्तो प्रणालीमा दर्ता भइसकेका छन् । विकसित मुलुकहरू मात्रै हैन, अफगानिस्तान, भुटान, क्युबा, सुडान र केन्याजस्ता देशहरूसमेत म्याड्रिड र हेग प्रणालीमा सदस्य भइसकेका छन् । यसरी म्याड्रिड र हेग प्रणाली नेपालले पनि अनुमोदन गर्ने हो भने यसअघि अनुमोदन गर्ने ती मुलुकमा नेपाली उत्पादनको छुट्टाछुट्टै ट्रेडमार्क दर्ता गर्नुपर्ने आवश्यकता नै नरहने र बौद्धिक सम्पत्ति विश्वभर एकसाथ सुरक्षित गर्नसकिने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्