हचुवाको भरमा घटाउने मिल्दैनः विज्ञ
बोलपत्र पेस गर्ने समय घटाउँदै सरकार

सरकारले बोलपत्र पेश गर्ने साविकको समय घटाउने तयारी गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को संशोधनका लागि प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा १० दिन तथा राष्ट्रिय स्तरको बोलपत्रको हकमा ९ दिनको समय घटाउने प्रस्ताव गरेको छ । ऐन अनुसार हाल अन्तर्राष्ट्रिय स्तरको बोलपत्रका लागि ४५ दिन तथा राष्ट्रियका लागि ३० दिनको समयावधि रहेको छ ।
बैठकले सार्वजनिक खरिद ऐन संशोधन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानुन, भौतिक पूर्वाधार, सहरी विकास, उर्जा, वन, भूमि व्यवस्था मन्त्रालयलगायतका प्रतिनिधिहरु सदस्य रहनेछन् । कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासंघसहित विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सुझावको अध्ययन गरी १५ दिनभित्र मस्यौदा पेश गर्नेछ ।
यस्तै प्रस्तावित व्यवस्थाबमोजिम बोलपत्र स्वीकृत भएपछि प्रकाशन गरिने आशयको सूचनाको समयावधि पनि घटाउने प्रस्ताव गरेको छ । नयाँ व्यवस्थाअनुसार राष्ट्रिय स्तरको बोलपत्रको हकमा तीन दिन र अन्तर्राष्ट्रिय बोलपत्रको हकमा सात दिन लाग्ने व्यवस्था गरिएको छ । शिलबन्दी दरभाउपत्र पेश गर्ने समयावधिलाई पनि १५ दिनबाट सात दिनमा झार्न प्रस्ताव गरिएको छ ।
बोलपत्र पेश गर्ने साविकको समय घटाउने विषय हचुवा मात्र नभएर अन्तर्राष्ट्रिय मान्यता विपरीत हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव कमल पाण्डे बताउँछन् । “ठेक्का लिन ठेगेदारहरुले फिल्डमा गएर हेर्नुपर्ने हुन्छ, यो कागजी ठेक्का लिने विषय होइन” कारोबार दैनिकसँग उनले भने, “ऐन अनुसारको समय अवधि घटाउँदा ठेक्काको प्रकृति हचुवा हुन जान्छ । तथ्य भन्दा पर पुग्छ । यसले पूर्वाधारको गुणस्तर खस्किनुको साथै कुनै ठेकेदार टाट पल्टिने त कुनै मालामाल हुने अवस्था आउँछ ।”
हचुवाका भरमा समय सिमा घटाउन नहुने उनको तर्क छ । यसले अन्तर्राष्ट्रिय मान्यतालाई नै ठेस पुग्ने उनी बताउँछन् । “एउटा घरको डिजाइन गरेर अनुमोदन गर्न त कति समय लाग्छ । अर्बौंको आयोजना ठेक्का दिने विषयामा हतार गर्नु हुँदैन” उनले भने ।
बैठकमा निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले प्र्र्रस्तावित मस्यौदामा गरिएको व्यवस्था आफूहरुलाई स्वीकार्य रहेपनि पर्याप्त नहुने भन्दै संस्थागत हिसावले ३९ बुँदे सुझावपत्र पेश गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यलाई गति प्रदान गर्ने, गुणस्तरीय काम गर्ने र पुँजीगत खर्च बढाएर राष्ट्रिय पुँजी निर्माणमा समेत योगदान गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा समसामयिक संशोधन गर्नु आवश्यक रहेको बताएका छन् । उनले सार्वजनिक निर्माणको गुणस्तर, पारदर्शिता र प्रतिष्पर्धाको मर्मलाई ध्यान दिएर संशोधन प्रस्ताव तयार गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले सार्वजनिक निर्माण कार्यको लागि परामर्शदाता छनौट गर्दा सम्भव भएसम्म स्वदेशी जनशक्तिलाई प्राथमिकता दिनेगरी व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले श्रम सहकारीमार्फत १० करोडसम्मको काम गर्न पाउने व्यवस्था कार्यान्वयन हुनेगरी कानुनी व्यवस्था मिलाउन निर्देशन दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयसहित विभिन्न मन्त्रालयका सचिवहरु, सहसचिव तथा विज्ञहरुले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा भएका त्रुटी र सच्याउनुपर्ने विषयहरुको सम्बन्धमा धारणा राखेका छन् । सो क्रममा उनीहरुले नयाँ सार्वजनिक खरिद ऐनको मस्यौदा तयार गर्नुपर्ने, निर्माण व्यवसायीहरुको वास्तविक क्षमता पहिचान नगरी धेरै ठेक्का एउटै कम्पनीलाई थुपार्ने परिपाटीको अन्त्य गर्नुपर्ने, निर्माण व्यवसायीहरुले तोकिएको समयमा आयोजना सम्पन्न नगरेर वर्षौंसम्म अलपत्र पार्ने गरेको, असल नियतले गरेका निर्णयमासमेत कानुनी संरक्षण नपाउदा खरिद सम्बन्धी निर्णयहरुमा ढिलाई हुने विषय उठाउएका थिए ।