ब्याजदर वृद्धिको असरले नेप्से सूचक २५ सय विन्दुमा «

ब्याजदर वृद्धिको असरले नेप्से सूचक २५ सय विन्दुमा

सेयर धितो कर्जामा गरिएको कडाइसँगै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार २५ सय विन्दुमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भई ब्याजदर वृद्धि भए पनि सेयर बजारमा समेत प्रभाव देखिएको छ । पछिल्लो दुई दिनमा गरी सेयर बजार डेढ सय अंकले गिरावट आएको छ । गत भदौ १ गते नेप्से सूचकले सर्वाधिक उचाई कायम गर्दै ३२ सय विन्दुमा पुगेको छ । मंगलबार ७७ अंकले घट्दा नेप्से सूचक २५ सयको लाइनमा झरेको छ ।

दसैंको विदापछि खुलेको बजार पहिलो दिन आइतबार सामान्य अंकले वृद्धि भए पनि सोमबार र मंगलबार उच्च गिरावट देखिएको छ । कात्तिक एक गतेदेखि बैंकहरूले ब्याजदर वृद्धि गरेपछि सेयर बजारमा प्रभाव देखिएको हो । मंगलबार नेप्से ७७.३३ अंकले घट्दा २५१०.७३ अंकमा झरेको छ ।

यस दिन २२१ कम्पनीका ९५ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेको गिरावटसँगै बजारमा कारोबार रकम पनि निरन्तर घटिरहेको छ । यसअघि बजारमा एकैदिन २० अर्ब रुपैयाँसम्म कारोबार हुन थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भएपछि बैंकहरू एक अर्काको निक्षेप खोसाखोसमा लागेका छन् । जसका कारण ब्याजदर उच्च वृद्धि भएको छ ।

ब्याजदरमा प्रतिस्पर्धा भएसँगै कात्तिकका लागि बैंकहरूले प्रकाशित गरेको ब्याजदर ११.६६ प्रतिशतसम्म पुगेको छ । असोजमै बैंकहरूले दोहोरो अंकमा ब्याजदर पु¥याएका थिए । सेयर बजारमा मंगलबार नेप्सेसँगै समूहगत परिसूचक पनि घटेका छन् । यसदिन बैंकिङ ५१.६६, व्यापार ५१.९३, होटल तथा पर्यटन ८८.२९, विकास बैंक १९४.९७, जलविद्युत् ११७.९९ र फाइनान्स ११२.१४ अंकले घटेका छन् ।

यसैगरी निर्जीवन बिमा ३१४.०८, उत्पादन १७५.३२, अन्य ३३.३२, लघुवित्त १३५.८२, जीवन बिमा ४२८.३९, म्युचुअल फण्ड ०.१७ र लगानी समूह २.४ अंकले घटेका छन । मंगलबार कारोबार भएका कम्पनीहरूमध्ये १ सय ७८ कम्पनीका सेयर मूल्य ओरालो लागेको छ । यसैगरी ७ कम्पनीको मूल्य वृृद्धि भएको छ भने २ कम्पनीको स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्