टाटा नानोपछि बन्द हुने पालो होन्डा ब्रियोको «

टाटा नानोपछि बन्द हुने पालो होन्डा ब्रियोको

बजारबाट मागमा उच्च गिरावट आएपछि सस्तो कारको प्रशंसा बटुलेको टाटाको नानो बन्द भएको छ । भारतमा उत्पादित सस्तो कारका रुपमा निक्कै चर्चा पाएको र सुरुवाती वर्षमा राम्रो बजार लिएको टाटा नानो कार पछिल्लो समय बिक्री हुन छाडेपछि कम्पनी उक्त मोडल बन्द गर्ने निर्णयमा पुगेको हो । टाटापछि जापानी कार उत्पादन कम्पनी होन्डाले भारतीय बजारमा उत्पादन गर्दै आएको इन्ट्रि लेभल कार ब्रियोको उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।
होन्डाले भारतीय बजारमा विगत १७ वर्षदेखि बिक्री गर्दै आएको इन्ट्रिलेभल कार ब्रियोको उत्पादन नगर्ने निर्णय गरेको हो । कम्पनीले भारतीय बजारमा कम्प्याक्ट सेडान अमेजको बजार हिस्सा बढाउने र अमेजलाई नै इन्ट्रिलेभल कारका रुपमा विस्तार गर्ने लक्ष्यसहित ब्रियोको उत्पादन बन्द गर्न लागेको जनाएको छ । “अब हाम्रो इन्ट्रिलेभल कार अमेज हो । होन्डाले ब्रियोको उत्पादन बन्द गरेको छ । योसँगै होन्डा ब्रियोको अर्को जेनेरेशन बजारमा ल्याउँदैन,” होन्डा कार इन्डियाका सिनियर भाइस प्रेसिडेन्ड तथा डाइरेक्टर (सेल्स एन्ड मार्केटिङ राजेश गोयलले बताए ।
उपभोक्ताले सानोभन्दा केही ठूला र एसयुभी फ्लेवरको कार रुचाउने ट्रेन्ड बढेको छ । यस्तो ट्रेन्ड भारतमा मात्र नभई विश्वभरको सवारी उपभोक्तामा रहेको देखिन्छ । होन्डाका साना कार चढ्न चाहने उपभोक्ताको माग ज्याज र डब्लूआरभीतर्पm केन्द्रीत हुने विश्वास गोयलको छ । होन्डाले भारतीय बजारमा २००१ मा ब्रियो सार्वजनिक गरेको थियो । सार्वजनिक भएयता हालसम्म करिब ९७ हजार वटा ब्रियो बिक्री भएको छ ।
२०१७ मा होन्डा कार इन्डियाले मल्टि पर्पोज भेइकल (एमपीभी) मोबिलियोको बिक्री समेत बन्द गरेको थियो । मोबिलियोको माग ज्यादै न्यून भएपछि उत्पादन बन्द गरेको कम्पनीले जनाएको थियो । होन्डाले भारतीय बजारमा जुलाई २०१४ मा मोबिलियो सार्वजनिक गरेको थियो । सार्वजनिक भएदेखि बन्द हुने समयसम्म होन्डाले ४० हजार ७ सय ८९ वटा मोबिलियो बिक्री गरेको तथ्यांक छ ।
नेपाली बजारमा पनि केही वर्षअघि सार्वजनिक भएको होन्डा ब्रियोले इन्ट्रिलेभल कारमा अपेक्षाकृत बजार लिन सकेन । स्याकार ट्रेडिङ प्रालिले नेपाली बजारमा होन्डाका कार उपलब्ध गराउँदै आएको छ । होन्डा कार इन्डियाले ब्रियोको उत्पादन बन्द गरेपछि उक्त कार नेपाल आउने सम्भावना समेत टरेको छ ।

प्रतिक्रिया दिनुहोस्