Logo

घुम्ने, रमाइलो गर्ने भनेको आम्दानी भएपछि हो, घुमाइले कार्य उत्प्रेरणा बढाउँछ, त्यसले अन्ततः आम्दानी बढाउन सघाउ पुर्याउँछ

घुमघाम कसरी फलदायी बनाउने ?


नेपालीहरूको आन्तरिक पर्यटन गर्ने प्रवृत्ति बढ्दै गएको छ । व्यक्तिगत आत्मसन्तुष्टि र मुलुकको अर्थतन्त्र दुवैको वृद्धिका लागि यो सकारात्मक संकेत हो । घुम्ने संस्कृतिलाई अझ व्यवस्थित बनाएर व्यक्तिगत सन्तुष्टि र अर्थतन्त्रको वृद्धिलाई अझै गुणात्मक बनाउन सकिन्छ ।
घुम्ने, रमाइलो गर्ने भनेको आम्दानी भएपछि हो । घुमाइले कार्य उत्प्रेरणा बढाउँछ । त्यसले अन्ततः आम्दानी बढाउन सघाउ पु¥याउँछ । यसले सिनर्जी इफेक्ट (योगभन्दा बढी प्रभाव) पार्दै जान्छ । रोजगारी, स्वरोजगारी, साना व्यापार उद्यमको संख्या पछिल्लो समय बढ्दै गएको छ । रेमिट्यान्सको पैसाले गाउँगाउँसम्म उपभोग वृद्धि गरेको छ ।
निजी क्षेत्रमा कर्मचारीको उत्प्रेरणा र ताजापनका लागि आन्तरिक पर्यटन बिदा दिने चलन पहिलेदेखि नै थियो । चालू आर्थिक वर्षबाट नेपाल सरकारले पनि यो नियम लागू गरेको छ । कतिपय अर्धसरकारी क्षेत्रमा यो नियम पहिलेदेखि नै थियो । सरकारी क्षेत्रमा रहेको अध्ययन अवलोकन भ्रमण वा पर्यटन बिदाको उपयोग भने अलि संकुचित तरिकाले हुँदै आएको छ ।
कर्मचारीहरूले तलबभत्ता जस्तै पर्यटन बिदालाई पनि सुविधाको रूपमा उपभोग गर्ने संस्कार पाइन्छ । कार्यालय नजाने, कागजात मिलाएर पेस गर्ने र पैसा मात्र लिने संस्कार पाइन्छ । सरकारी कार्यालयहरूमा कामको चाप नहुने हुँदा कर्मचारीलाई रिफ्रेसमेन्ट पनि खासै नचाहिने र पैसा बचतमा रमाउने बानी देखिन्छ । यसमा सुधारको खाँचो छ ।
घुमघामले एकातिर कर्मचारीको उत्प्रेरणा वृद्धि भई कार्यसम्पादनमा गुणस्तर वृद्धि हुनुपर्छ । अर्कातर्फ यातायात, होटल, स्थानीय व्यापारी, पर्यटकीय स्थलहरूको आम्दानी बढ्नुपर्छ । समानुपातिक रूपमा अर्थतन्त्र चलायमान पार्ने सबैभन्दा प्रभावकारी माध्यम यो हुन सक्छ । यसले सबै क्षेत्रमा आय वितरण गर्छ ।
कसरी घुम्ने, कोसँग घुम्ने, कति खर्च गर्ने, कहाँ घुम्ने, कति दिन घुम्ने, कति पटक घुम्ने यी सबै व्यक्ति–व्यक्तिको रुचि, क्षमता र समय व्यवस्थापनअनुसार फरक हुन सक्छन् । आन्तरिक भ्रमण एकदेखि दुई साताको बनाउन उपयुक्त हुन्छ । भ्रमण धार्मिक, भौगोलिक, मानव निर्मित संरचना, ऐतिहासिक, प्राकृतिक स्थलहरूको गरिन्छ । एकै भ्रमणमा यी सबैको उपयोग गर्न सकिन्छ । एक साताको भ्रमण छ भने एक रुटको भ्रमण हुन्छ । दुई साताको छ भने एक क्षेत्रको भ्रमण गर्न सकिन्छ ।
आफन्त, साथीभाइ, कार्यालय सहकर्मी, समान पेसाकर्मी, टोलवासी आदि विभिन्न आधारले भ्रमण टोली बनाउन सकिन्छ । यहाँनिर ख्याल गर्नुपर्ने कुरा कुन वर्ग समूहको टोली बनाउने भन्ने हो । टोली पर्फेक्ट (उपयुक्त) भयो भने मात्र भ्रमणको पूर्ण आनन्द प्राप्त हुन्छ । भ्रमणको बेला हाइरार्की (पदसोपान) बिर्सनुपर्छ । यो पूर्णतः अनौपचारिक हुनुपर्छ ।
आफन्तहरूको टोली छ भने तीन परिवारलाई आइडल (आदर्श) मान्न सकिन्छ । एकले अर्कालाई मर्यादा पालन गर्नुपर्ने वा मध्यस्थ परिवारमार्फत परिचित हुनुपर्ने परिवारहरूको टोली बनाउनु उचित हुँदैन । सबै परिवार एक आपसमा चिरपरिचित हुनु राम्रो हुन्छ । साथीभाइ हो भने ६ जनाको टोलीलाई आइडल मान्न सकिन्छ । टोलवासी, पेसाकर्मी, कार्यालयको टोली हो भने २० जनालाई आइडल मान्न सकिन्छ ।
एकै पटक धेरै ठाउँ घुम्ने योजना बनाउनु हुँदैन । तालिका एकदमै खुकुलो हुनुपर्छ । एक साताको भ्रमण भए एक दिन र दुई साताको भए दुई दिन तालिकामा खाली राख्नु उपयुक्त हुन्छ । विभिन्न कारणले भ्रमणमा चाप परेको छ भने ती दिनले व्यवस्थापन गर्न सहयोग पु¥याउँछन् । यदि सबै दिन तालिकाअनुसार नै भयो भने पनि एक्स्ट्रा (उभ्रेको) दिनले आराम दिन्छ ।
भेन्युहरू (घुम्ने ठाउँ) पहिले निर्धारण गर्नुपर्छ । निम्ता बाँडेजस्तो धेरै भेन्यु पुग्ने र फर्कने गरी तालिका बनाउनु हुँदैन । आफूहरू कुनै काम सम्पन्न गर्न होइन, रमाइलो गर्न आएको हो भन्ने कुरा ख्याल गर्नुपर्छ । जुन भेन्युमा गइन्छ, त्यहाँको पूर्ण आनन्द प्राप्त गर्ने गरी पर्याप्त समय छुट्ट्याउनुपर्छ । एक ठाउँ घुमेर अर्को ठाउँ बास बस्न पुग्दा राति अबेर पुग्नु हुँदैन । उज्यालोमै होटल, रिसोर्ट छनोट गरेर बेलुकीको रमाइलो लिनुपर्छ ।
व्यावसायिक टुर गाइड छ भने उसैलाई फलो (पिछा) गर्नुपर्छ । यदि छैन भने आफ्नै टोलीबाट कसैलाई समन्वयकर्ताको भूमिकामा राख्नुपर्छ । फलानो दिन फलानोले समन्वय गर्ने भनेर धेरै जनालाई भूमिका दिनु झनै राम्रो हुन्छ । पहिल्यै तयार गरिएको घुम्ने ठाउँहरूको सूची घुम्ने बेला थपघट गर्न आवश्यक परे त्यसलाई सहजै स्वीकार गर्नुपर्छ ।
भ्रमणमा निस्केपछि एक जनाले एउटा कुरा र अर्कोले अर्को कुरा गर्ने, अलमल पर्ने, विवाद हुने अवस्था आउन सक्छ । यसका लागि पूर्वतयारी महŒवपूर्ण हुन्छ । त्यसैले पहिले नै अनुमान गरेर त्यो अनुमान टोली सदस्य सबैमा सेयर (जानकारी) गर्नुपर्छ । हिंड्नुअघि नै एकमत भएर हिंड्नु राम्रो हुन्छ । हिंडिसकेपछि टोली प्रमुख, समन्वयकर्ता वा गाइडको कुरा चित्त नबुझे पनि सहजै स्वीकार गर्नुपर्छ ।
पारिवारिक घुमघामको बेला बालबच्चा हराउन सक्ने सम्भावना हुन्छ । सबै जनाले अर्कोले हेरे होला भन्ने सोच्दासोच्दै कसैले पनि नहेर्ने र बच्चाहरू हराउने हुन सक्छ । हराएको अवस्थामा बच्चाहरूले के गर्ने भनेर उनीहरूलाई पहिल्यै सिकाउनुपर्छ । अभिभावकको मोइबाइल नम्बर कण्ठ पार्न लगाउने, नजिकको पुलिस स्टेसन पु¥याइदिनू भन्न सिकाउने गर्नुपर्छ । हराइहाले भने पनि यसरी तिमीहरूलाई हामीले भेटाउन सक्छौं भनेर नअत्तालिने गरी विश्वस्त बनाउनुपर्छ ।
खर्चमा धेरै लोभ र धेरै मनकारी दुवै गर्नु हुँदैन । रमाइलो गर्ने हो भनेर आफ्नो हैसियतभन्दा महँगा होटल, बेड, सरसामान, सेवा, खाना खरिद गर्नु हुन्न । हरेक छाक मदिरा र मासुसहितको खाना खानुपर्छ भन्ने सोच राम्रो होइन ।
एकै पटकमा धेरै खर्च गर्नुभन्दा फुर्सद निकालेर वर्षमा दुई पटक भ्रमण गर्नु राम्रो हो । १२ महिनामा १५ दिन वा १ महिना फुर्सद निकालेर दुई पटक घुम्नुपर्छ । नयाँ ठाउँ नै घुम्नुपर्छ भन्ने मान्यता राख्नु हुँदैन । यो–यो ठाउँ पुगिसकेँ भनेर अरूलाई देखाउन होइन, घुम्दाको अवधिमा आफूले पूर्ण मनोरञ्जन गर्ने हिसाबले घुम्नुपर्छ ।
खाना, खाजा, सेवाशुल्क, प्रवेश शुल्कहरूको भुक्तानी व्यक्तिगत वा सामूहिक गरेर समान बाँडफाँड गर्ने निधो गर्नु राम्रो हुन्छ । व्यक्तिगत खर्च गर्दा अनावश्यक कन्जुस्याइँ र सामूहिक गर्दा अनावश्यक फजुल हुन सक्छ । यस्ता कुरामा खुलेरै पूर्व समझदारी गर्नु राम्रो हुन्छ । केही तलमाथि भए पनि सम्झौता गर्न हृदय खुला राख्नुपर्छ ।
नेपालमा पहाडी क्षेत्रमा करिब १० डिग्रीसम्मको तापमान अन्तर हुन्छ । मानौं टार, बेसीमा ३० डिग्री सेल्सियस छ भने उपत्यकाहरूमा २५ डिग्री र लेकहरूमा २० डिग्री हुन सक्छ । तराई क्षेत्रमा पहाडी बेसी, टारभन्दा ७ डिग्री तापमान बढी हुन सक्छ । हिमाली क्षेत्रमा पहाडी लेकभन्दा ७ डिग्री तापमान कम हुन सक्छ ।
तापमानलाई हेरेर लुगाहरूको व्यवस्थापन गरेर भ्रमणमा निस्कनुपर्छ । घाम लाग्दा र पानी पर्दा तापमानमा ७ डिग्रीसम्म अन्तर हुन सक्छ । नेपालमा पानी परिरहने र कहिलेकाहीं मात्र पानी पर्ने ठाउँहरू छन् । कतिपय ठाउँ तीव्र बतास चल्ने हुन्छन् । पानी र बतास पर्ने ठाउँ छ भने छाता उपयुक्त हुँदैन । यस्तो ठाउँका लागि प्लास्टिक रेन कोट उपयुक्त हुन सक्छ ।
घुमघामको समय चोटपटक, बान्ता, रिँगटा, टाउको दुख्ने, रुघा लाग्ने जस्ता समस्या आइपर्न सक्छन् । यसका लागि घरेलु औषधि र मेडिकलमा उपलब्ध हुने प्राथमिक उपचारका औषधी साधनहरू साथमा राख्नु उपयुक्त हुन्छ । स्वास्थ्यमा समस्या आए भ्रमणको रमाइलोमा खल्लो हुने हुँदा यस्ता साधन महŒवपूर्ण हुन्छन् ।
लामो घुमघाममा निस्कँदा लुगा मैलो हुन्छन् । धेरै लुगा बोकेर हिंड्नु झन्झट र ठाउँ ओगट्ने हुन्छ । त्यसैले बीच–बीचमा धोवी (लाउन्डरी) को सेवा लिनुपर्छ । यदि हतारिएर एक ठाउँबाट अर्काे ठाउँ घुम्ने हो भने लुगा धुने समय अपुग हुन्छ । तालिकामा खाली राखिएको दिन यसमा उपयोगी हुन सक्छ । एक ठाउँमा लुगा धुन दिएर अर्को ठाउँमा घुम्न जाने र फर्केर लुगाहरू लिन पनि सकिन्छ ।
घुमेका ठाउँहरूमा तस्बिर लिने त सामान्य नै भयो । ठाउँअनुसार विशेष उत्पादनहरू पनि किनेर ल्याइन्छ । यी स्मरणका माध्यम हुन् । यसबाहेक आफ्नो वर्गअनुसार स्मरणका लागि अरू काम गर्न सकिन्छ । नियात्रा लेख्दा आफ्नो व्यक्तिव्य विकासमा सघाउ पु¥याउँछ । कार्यालयको भ्रमण हो भने प्रतिवेदन लेख्न अनिवार्य गर्नुपर्छ ।
बच्चाबच्चीलाई घुमेका स्थानको निबन्ध लेख्न प्रेरित गर्नुपर्छ । उनीहरूलाई आफ्नो अनुभूति लेख्न भन्नुपर्छ । घुमेका ठाउँका बारेमा किताबमा पढेका कुरा दोहो¥याउन भन्न सकिन्छ । उनीहरूको लेखाइ र पढाइप्रति अभिभावकले प्रशंसा गर्नुपर्छ । यसबाट बालबालिकाको खुसी, लेखन, सिकाइ सबैमा गुणात्मक सकारात्मक प्रभाव पर्छ ।

प्रतिक्रिया दिनुहोस्