प्रजिअ ढकालसँग व्यवसायीको छलफल «

प्रजिअ ढकालसँग व्यवसायीको छलफल

वीरगञ्ज उद्योग वाणिज्य संघले पर्साका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग भेटघाट तथा छलफल गरेको छ ।
समारोहमा वीउवासंघका अध्यक्ष सुबोधकुमार गुप्ताले संघको पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याका बारेमा जानकारी गराएका थिए ।
उनले वीरगञ्जलगायत पर्सा–बारा क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकाले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारीढकालको ध्यानाकर्षण गराएका छन् । त्यस्तै ७० प्रतिशत जति कार्गो यसै नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा ५०–६० प्रतिशतको योगदान यस क्षेत्रको रहेकोले सोही अनुरुप यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रजिअ ढकालले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
संघका निवर्तमान अध्यक्ष गोपाल केडियाले वीरगञ्जमा हुने ध्वनि प्रदुषण, बजार क्षेत्रमा हुने ट्राफिक व्यवस्थापन, औद्योगिक करिडोरमा शान्ति सुरक्षाको व्यवस्था, बिन्दवासिनी–वीरगञ्ज सडकखण्डमा दिनहुँ हुने गरेको जामलाई व्यवस्थित गर्नुपर्ने, वीरगञ्ज–रक्सौल मितेरी पुलको जीर्णोद्वार गर्नुपर्ने, वीरगञ्ज–रक्सौल बीचको अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने लगायतका सुझावहरु प्रजिअ ढकाललाई दिए ।

प्रतिक्रिया दिनुहोस्