पाँचखालमा ४० उद्योग स्थापनाको तयारी «

पाँचखालमा ४० उद्योग स्थापनाको तयारी

लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ ।

पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खरेलले बताए ।
“पाँचखाल सुनको कचौरा हो, यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दैछौं” उनले भने, “उद्योग स्थापनाले स्थानीयस्तरको खाद्यान्नलगायत वस्तुको उत्पादन र उपभोग बढ्नाका साथै करिब चार हजार स्थानीयवासीले रोजगारी पनि पाउनेछन् । उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकता दिने नगरको योजना छ ।”
लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना संक्रमणको जोखिमले थाँती रहे पनि साझेदारीका लागि वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताए । “उद्योग स्थापनापछि स्थानीयवासीलाई प्राथमिकता दिइन्छ, सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय भइरहेको छ” उनले भने ।
चालू आर्थिक वर्षदेखि एक दर्जन उद्योगबाट उत्पादन गराउने गरी तयारी थालिएको र उद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि वित्तीय संस्थासँग सम्झौतालाई प्राथमिकता दिइरहेको बताइएको छ । उद्यम गर्न चाहने स्थानीयबासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि नबिल बैंकसँग सम्झौता गरिएको बताइएको छ । सम्झौतामा उद्यम गर्न चाहनेलाई अभिमुखीकरण तालिम दिएर आकर्षण गर्ने उद्देश्य रहेको छ ।
बैंकले सरकारको दीगो विकासका लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यामशीलताका लागि दीगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । नगरपालिकाले नगरलाई ‘स्मार्ट सिटी’ बनाउन गत भदौमा काठमाडौंस्थित इन्फ्राक्स्चर बैंकसँग सात शर्त राखेर सम्झौता गरेको थियो ।
पूर्वाधारलगायत निजी–साझेदारीको माध्यमबाट नगरलाई स्मार्ट बनाउन सो सम्झौता गरिएको हो । नगर प्रमुख खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । उनले भने, “लगानी सम्मेलनको अझै आशा त मरेको छैन, उपयुक्त वातावरण भए अझै यसै सालभित्र गर्ने योजनामै छौं ।”
आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यतिर निर्णय गरी तयारीमा जुटेपछि लगानी सम्मेलनको योजना त्यतिबेला कोरोना भाइरसको संक्रमणको उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो ।
गत आर्थिक वर्षमा सम्मेलन गर्ने कार्यतालिका बनाइए पनि पुनः कोरोना भाइरसको संक्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । यसका लागि गत आर्थिक वर्षमै बजेटसमेत विनियोजन गरिएको थियो । यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेकामा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए । पाँचखाल पनि तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगर बनिसक्थ्यो ।
पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न विगतका दुवै आर्थिक वर्षमा प्रारम्भिक बजेट छुट्याइएको थियो । पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । विशेषगरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण गराउने योजना बनाइएको थियो ।
लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका पाँचखालका स्थानमा सडक पु¥याइएको र पु¥याउने काम भइरहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा तथा प्रविधि विस्तार, पर्यटकीयस्तरका ठूला होटल निर्माण र उद्योग स्थापनाका लागि सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ । पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ ।
पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया अघि बढाइएको बृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषदद्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’का साथै एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक भएको छ ।
विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर यसलाई अझ वृहत बनाइएको छ । तेह्र वडामा विभाजित यस नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर छ भने ३७ हजार ७९७ जनसंख्या छ ।
‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरपालिकाले पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउनका साथै खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको छ । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापनाको योजना नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्