पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई «

पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई

सरकारले विसं २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना ग¥यो । उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन् । कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन् ।
प्राविधिक सहायकको दुई दरबन्दी रहे पनि उक्त दरबन्दी रिक्त छ । कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए । “कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ,” उनले भने, “कर्मचारी पूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ ।” उक्त कार्यालय भाडामा भवन लिएर सञ्चालन हुँदै आएको छ ।

एक वर्षमा ८८ खाद्य नमूना संकलन
कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा ८८ खाद्य नमूनाको संकलन गरेको छ । ५१ खाद्य उद्योगहरूको निरीक्षण गर्दा कार्यालयले १८ पटक संयुक्त बजार अनुगमन गरेको थियो । तीनपटक चार ठाउँमा होटल रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गरिएको छ भने तीन ठाउँमा होटल स्तरीकरण लोगो वितरणसम्बन्धी अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ । यसैगरी चौध पटक गरी कूल एकवटा विभिन्न स्तरका होटल, रेष्टुरेन्ट, मिठाई पसल तथा भोजनालय निरीक्षण गरिएको प्रमुख पोखरेलले बताए ।
कार्यालयले विभिन्न खाद्य उद्योगको अनुज्ञापत्र नवीकरण जारी सम्बन्धमा निवेदन लिई, उद्योग निरीक्षण गरी आवश्यक कार्यका लागि भैरहवास्थित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाइएको जनाएको छ ।

दुई उद्योगविरुद्ध मुद्दा, ३० ठाउँमा अनुगमन
कार्यालय यो वर्षको ६ महिनाको अवधिमा ३० ठाउँमा बजार अनुगमन गरेको छ । कार्यालयले तनहुँ, लमजुङ, गोरखा र नवलपुरका विभिन्न ३० ठाउँमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कार्यालयले कैफियत देखिएका दुई उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ ।
खाद्य अनुसन्धान अधिकृत पोखरेलका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित कृष्ण पाउरोटी उद्योग र नवलपुरको गैडाकोटस्थित सरस्वती डेरी उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ । त्यस्तै दशवटा मुद्दा अनुसन्धानका क्रममा रहेको पोखरेलले बताए ।
कार्यालयका चाडपर्वका अलवा अन्य समयमा पनि नियमित रूपमा बजार अनुगमन गर्ने गरेको छ ।
अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि संकलन गर्दै आएको छ । संकलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरिएको छ । “खाद्य ऐन, २०३३ ले दिएको अधिकारअनुसार नियमित रूपमा कार्यक्षेत्रभित्रका जिल्लाहरूमा अनुगमन भइरहेको छ,” उनले भने ।

पाँच उद्योगविरुद्ध मुद्दा
कार्यालयले गत आर्थिक वर्षमा पाँच उद्योगविरुद्ध मुद्दा दर्ता गरेको थियो । त्यसमध्ये दुई उद्योगविरुद्ध अदालतले जरिवानाको फैसला सुनाएको छ । आयशा अरमान पाउरोटी उद्योग र प्रीति पाउरोटी उद्योगलाई जिल्ला प्रशासन कार्यालयबाट जनही दस हजार रुपैयाँका दरले जरिवाना गरेको थियो । माउन्टेन तनहुँ बेल तथा सामुदायिक फलफूल प्रशोधन उद्योगविरुद्ध तनहुँ जिल्ला अदालतमा, गुड टेष्ट सस प्रोडक्टविरुद्ध तनहुँ जिल्ला अदालतमा र दिपसन फुड प्रोडक्सनविरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्