मोनाको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी «

मोनाको अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी


नयाँ नेतृत्व चयनका लागि म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन कात्तिक २ र ३ गते बेनीमा हुने भएको छ ।
मोनाको अध्यक्ष पदमा तीनजनाको उम्मेदावरी दर्ता भएको आयोजकले जानकारी दिएको छ । समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगामी नेतृत्वको दाबी गर्दै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलका संयोजक सुवाष श्रेष्ठले जानकारी दिए । पुर्जा नेदरल्याण्ड, छन्त्याल अमेरिका र कार्की कतारमा बसोबास गर्छन । तीनैजना म्याग्दी प्रवासी नेपाली संघको विभिन्न काममा सकृय भएर लागेका व्यक्ति हुन् । म्याग्दीको आर्थिक, सामाजिक र मानवीय सेवामा मोनाको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
मोनामा अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष १ जना उपाध्यक्ष तीनजना, महिला उपाध्यक्ष १ जना, महसचिव १, सचिव २, प्रवक्ता १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १, महिला उपसंयोजक १, क्षेत्रीय संयोजक र उपसंयोजक ५/५ जना रहने व्यवस्था छ । सदस्यहरूमा प्रत्येक देशमा रहेका मोनाका समितिले एक एकजना सदस्य पठाउने व्यवस्था छ । कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखामार्फत प्रतिनिधिहरू आउन सम्भव नभएपछि भौतिक र अनलाइनमार्फत सहभागिता जनाउन पाउने गरी प्रबन्ध मिलाइएको अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।
महाधिवेशनमा २६१ जनाले सहभागिता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिए । मोनाको बेनीस्थित सचिवालयमा समितिका पदाधिकारी आएर विभिन्न संघ संस्था र व्यक्तिसँंग महाधिवेशनको तयारीमा लागेका छन् । महाधिवेशनलाई सफल बनाउन गठित उपसमितिमार्फत तयारी तीव्र पारिएको र प्रतिनिधि प्रवासबाट स्वदेश आउने क्रमसमेत बढेको छ । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्वसमेत चयन हुनेछ । उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकीसहितको ¥यालीसमेत आयोजना गरिने जनाइएको छ । कात्तिक २ गते मंगलबार जिसस सभाहलमा महाधिवेशन उद्घाटन हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्