वर्षाले धानबालीमा क्षति «

वर्षाले धानबालीमा क्षति


अचानकको भारी वर्षाले सुदूरपश्चिमको प्रमुख बाली धानमा ठूलो क्षति पु¥याएको छ ।
आइतबार साँझ चलेको हावाहुरीसँग सुरु भएको भारी वर्षाले खेतमा काटेर सुकाएर राखेको र मुठा पारेको धानमा सबै भन्दा बढी क्षति पुगेको छ । कैलाली गाउँपालिका वडा नम्बर ५ का किसान रामदास चौधरीले दसैंको टीका सकिएपछि रिपर लगाएर दुई विघा जमिनको धान काटेका थिए । दुई दिन सुकाएर मुठा पारी कुन्यु लगाएर थ्रेसर लगाउने योजनामा रहेका चौधरीले अचानक वर्षा हुँदा काटेको धान तैरिन थालेको बताए । उनले उत्पादन भइसकेको धान स्याहार्न नपाउँदै क्षति हुँदा चिन्तित भएको बताए ।
गत वर्ष छ लाख ७० हजार पाँच सय मेट्रिक टन धान फलेको सुदूरपश्चिममा यस वर्ष ७ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । गत वर्षको उत्पादनमध्ये कैलालीमा मात्रै तीन लाख ४० र कञ्चानपुरमा एक लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यी दुवै जिल्लामा वर्षाले सबै भन्दा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
केन्द्रका प्रमुख बरिष्ठ कृषि प्रसार अधिकृत खगेन्द्र शर्माले धान उत्पादन ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएकोमा वर्षाले गर्दा सोही मात्रामा उत्पादन घट्ने देखिएको बताए । “काटेर सुकाएको, मुठा पारेको र कुन्यु लगाएको धानमा सबै भन्दा बढी क्षति भएको छ” उनले भने, “काट्न बाँकी धानमा पनि असर परेको छ । यसले गर्दा उत्पादनमा मात्रा घट्नुका साथै गुणस्तरमा समेत असर पर्छ ।”
बिजेको धान सुकाएर स्याहारे पनि दाग लाग्ने, कुटाउँदा चामल टुट्ने र सडेको जस्तो गनाउने समस्या आउन सक्ने कृषि शर्माले बताए । उनले यो समस्याको कारण किसानले पाउने मूल्यमा पनि ह्रास आउने बताए ।
सुदूरपश्चिम प्रदेशमा असोज मध्यदेखि कात्तिकको पहिलो हप्तासम्म धानबाली स्याहार्ने गरिएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशको तराइका जिल्ला कैलाली र कञ्चनपुरमा आधा जति धान स्याहार्न बाँकी थियो भने पहाडी जिल्लाहरुमा ३० प्रतिशत मात्रै स्याहर्न बाँकी थियो । “वर्षा भन्दा पहिले नै थ्रेसर लगाएर धान घरभित्र राखिसकेको धान मात्रै राम्रो रहने भयो” प्रदेश कृषि निर्देशक यज्ञराज जोशीले भने, “खेतमा रहेको प्रायः सबै धानमा मात्रा र गुणस्तर घट्ने देखिएको छ । यसले गर्दा व्यापारीले धान किन्दा किसानसँग बार्गेनिङ गर्ने र किसानले मूल्य कम पाउने देखिएको छ । गुणस्तर खस्किने भएकाले यस वर्षको धान वर्षभरी भण्डारण गर्न पनि सकिँदैन ।”
सोमबारसम्म परेको पानीले काट्न बाँकी धानमा धेरै क्षति नगरेको भएपनि थप वर्षा भए क्षति पुग्ने कृषि विज्ञहरुले जनाएका छन् ।

तरकारी बालीमा पनि क्षति
धानँंगै वर्षाले तरकारी बालीमा पनि क्षति पु¥याएको छ । पछिल्लो हप्ता रोपेको आलु, काउली, बन्दा, गोलभेंडालगायतका तरकारी बालीमा ठूलो क्षति पुगेको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । मुसलधारे वर्षा भएकाले तरकारी बारीमा पानी जमेकाले लगाएको आलु नउम्रिदै कुहिने, काउली, बन्दा, गोलभेंडालगायतका तरकारीको बोट मर्ने कृषि निर्देशक जोशीले बताए ।
बंगालको खाडीबाट उठेको न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागको अत्तरिया फिल्ड कार्यालयका अनुसार आइतबार राति धनगढीमा ८०, डडेल्धुरामा ११६ र दिपायलमा ९५ मिलिटिर वर्षा भएको छ ।

धनको मूल्य न्यून
नेपाल सरकारले निर्धारण गरेको धानको मूल्य भन्दा निकै न्यून मूल्यमा किसानले धान बेच्न बाध्य भएका छन् । धनगढीको राधेश्याम रानाले दसैंअघि धान स्याहारेर खर्च जुटाउन धान बेचे । तर उनले माटो धानको मूल्य १६ यस रुपैयाँ मात्रै पाए ।
प्रदेश सभा सदस्य मालामति रानाले आफ्नो छिमेकीले धान बेच्दा क्विन्टलको साढे १६ सय रुपैयाँ मात्रै पाएको जनाइन् । उनले सरकारले धानको मूल्य तोकेको भएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा धान खरिद गर्न काँटा नराख्दा किसानहरु मर्कामा परेको बताइन् । उनले कम्पनीले धानको सिजन सुरु हुने वित्तिकै ठाउँ ठाउँमा काँटा राखेर धान खरिद गर्नुपर्ने बताइन् ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि मोटो धानको मूल्य दुई हजार सात सय ५२ र मध्य मसिनो धानको मूल्य दुई हजार नौ सय दुई रुपैयाँ निर्धारण गरेको छ । गत वर्ष मोटो धानको मूल्य दुई हजार सात सय ३५ र मध्य मसिनो धानको मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ निर्धारण गरिएको थियो । मसिनो धानको मूल्य नेपाल सरकारले निर्धारण गर्ने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्