इजरायल जाने युवाको रोजगार सम्झौता छिट्टै «

इजरायल जाने युवाको रोजगार सम्झौता छिट्टै

रोजगारीका लागि इजरायल जान चरणबद्ध परीक्षाका प्रक्रिया पूरा गरेका श्रमिकलाई इजरायल पठाउने सम्बन्धमा थप काम सुरु गरिएको छ । यसका लागि इजरायलले केही दिनभित्रै रोजगार सम्झौता पठाउने भएको छ ।
इजरायलको रोजगारीका लागि दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको अन्तिम नतिजा सार्वजनिक भएपछि सरकारले नेपाली युवा त्यहाँ पठाउने प्रक्रिया सुरु गरेको हो । वैदेशिक रोजगार विभागले असोज २५ गते एक हजार १ सय ७५ युवाको अन्तिम नामावली सार्वजनिक गरेपछि उनीहरूको थप प्रक्रिया सुरु भएको विभागले जनाएको छ । विभागका निर्देशक एवं इजरायल रोजगारीका फोकल व्यक्ति डम्बर सुनुवारले इजरायलको पपुलेसन एन्ड माइग्रेसन अथोरिटी (पिवा) ले रोजगार सम्झौता गरेका युवाको नामावली आउने क्रममा रहेकाले नेपालले गर्ने अन्य प्रक्रियाका लागि काम भइरहेको बताए ।
पिवाको समन्वयमा विभागले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार इजरायलको पपुलेसन एन्ड माइग्रेसन अथोरिटी (पिवा) ले छनोट भएका युवाको रोजगार सम्झौताको काम सकेपछि नेपाली पक्षबाट गरिने प्रक्रिया सुरु गरिने छ । “रोजगार सम्झौता भएका युवाको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन (आचरण प्रतिवेदन), करारनामा र पूर्वप्रस्थान अभिमुखीकरण लगायतका काम सुरु गरिने छ ।” निर्देशक सुनुवारले कारोबारसँग भने, “नेपाली श्रमिकलाई कुन मोडालिटिको आधारमा इजरायल पठाउने भन्ने सम्बन्धमा पुनः एक पटक पिवासँग छलफल गरिने छ ।” पहिलो चरणमा कति श्रमिक पठाउने भन्ने सम्बन्धमा समेत पिवासँग छलफल गरी तय हुने विभागले जनाएको छ । इजरायलले हाल अन्तिम चरणमा छनोट भएका नेपालीको रोजगार सम्झौता, भिसा र अन्य प्रक्रियाका बारेमा काम गरिरहेको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनोटका लागि नेपालले पिवालाई उपलब्ध गराएको योग्यताक्रम सूचीका एक हजार ६ सय जना उम्मेदवार मध्येबाट एक हजार १ सय ७५ रोजगारीका लागि योग्य भएका थिए । पिवाद्वारा सार्वजनिक गरिएको चिट्ठा प्रणाली (लट्री–रेन्डम सेलेक्सन) बाट छनोट भएका उम्मेदवारको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन, अभिमुखीकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ । इजरायलले त्यहाँका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारी दिने गरी पहिलो चरणमा नेपालबाट एक हजार युवा माग गर्ने जनाए पनि विभागले पठाएको नामावलीका आधार पिवाले थप १ सय ७५ को नामावली विभागमा पठाएको थियो । मेडिकल लगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएको भन्दा थप १ सय ७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसका महिलाको ८ सय २१ र पुरुष ३ सय ५४ रहेका छन ।
इजरायलले पठाएको नामावलीको आधारमा क्रमशः एक हजार १ सय ७५ जनालाई नै अभिमुखीकरण तालिम समयमा नै सम्पन्न गर्ने गरी तयारी गरिएको छ । विभागले इजरायलको पिवाबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ । विभागले इजरायल जाने नेपालीले मासिक एक हजार ६ सय अमेरिकी डलर अर्थात् हालको विनिमयदरअनुसार एक लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपिएर पाँच वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित एक लाख ६५ हजार सात सय शुल्क लाग्ने विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्