नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो लाइसेन्स «

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो लाइसेन्स

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंक, बिमा कम्पनीहरू, लघुवित्त, नीजि कम्पनीहरू तथा व्यक्तिगत व्यवसायीको संयुक्त लगानी र प्रयासबाट २०७५ जेठ २५ गते राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
बैंकले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको जनाएको छ । ४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधी) लगायतको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।
सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मुख्य कार्य क्षेत्रअन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनामा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र वाह्य स्रोत जुटाउने रहेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्