एनआरएनए कार्यसमितिको कार्यकाल छ महिना थप

गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप भएको छ । शनिबार भएको एनआरएनएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।
छ महिनाभित्र एनआरएनएको अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संघले जनाएको छ । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ ।
एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो । मन्त्रालयको पत्रबमोजिम अक्टोवर २३ देखि २५ कालागि गरिने तयराी गरिएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।
साथै, शनिबारको बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहौल बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र अध्यक्ष पन्तलाई जिम्मा दिएको छ । बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
निर्धारित समयमा नै निर्वाचनको लागी कूल आचार्य, रविना थापा र डा बद्री केसीले एनआरएनएको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, पहिलो पटक एनआरएनएमा परराष्ट्र मन्त्रालयको प्रत्यक्ष हस्तक्षेपपछि गैर आवासीय नेपाली संघमा निर्धारित मितिमा निर्वाचन हुन सकेन ।