नेपाली खेलाडीको प्रशंसा «

नेपाली खेलाडीको प्रशंसा

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गरेका छन् । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसकेपनि आफू निराश नभएको पनि उनले बताए ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै मन्त्री गहतराजले भने, ‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरु जित्न सक्छ ।’ आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक तथा प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरुले खेल्ने अपेक्षा समेत गरेको सुनाए ।
नेपालले समग्रमा साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाई थियो । उनले भने, ‘नेपाली गोर्खा स्प्रिट सम्झेर खेल्न प्रेरित गरेको थिएँ र खेलाडीहरुले त्यहि अनुरुप खेले पनि ।’
नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको उनले बताए । भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको भन्दै जितको आशा भने पूरा नभएको बताए । उनले भने, ‘असफलताबाट सिकेर सफलताका लागि बढ्नुपर्छ ।’ नेपालको खेलको समिक्षा हुने र भविष्यमा अझ खेलस्तर सुधार्न आवश्यक कदमहरु चालिने बताए ।
आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको भन्दै उनले मन्त्री नियुक्त भएकै दिन देखि आफू काममा खटिइसकेको पनि बताए । आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनावद्ध तरिकाले बढिरहेको बताए ।
आफू काममा विश्वास गर्ने व्यक्ति भएको भन्दै उनले गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यस अनुसारको काम बढाउने बताए । ‘युवाहरुलाई देशभित्रै काम गर्न जागरुक गराउने र आशावादी बनाउने आधार तयार गर्न लागेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्