नोटलाई जतनका साथ प्रयोग गर्न अनुरोध «

नोटलाई जतनका साथ प्रयोग गर्न अनुरोध

नयाँ नोट छाप्नमात्र होइन पुरानो नोट झुत्रो भएर जलाउँदा समेत राष्ट्रको ढुकुटीको मोटो रकम खर्च हुन्छ ।
त्यसैले नेपाल राष्ट्र बैंकले नोटलाई जतनका साथ प्रयोग गर्न अनुरोध गरेको छ ।
दशैंतिहार जस्ता चाडबाडमा वा अन्य समयका पुजाआजामा पनि नोटको प्रयोग गरिँदा अबिरजस्ता रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने कारणले नोट फोहोर हुने गर्दछ । त्यसैले हरेक वर्ष झै यसपटक पनि नेपाल राष्ट्र बैंकले नोटलाई जतनका साथ प्रयोग गर्न अनुरोध गरेको हो । दशैंतिहारमा धेरै नयाँ नोट चलनचल्तीमा आउँछन् । तर, ती नोट फोहोर वा झुत्रो भएर फर्किने समस्या रहेको कारण राष्ट्र बैंकले अनुरोध गर्नु परेको हो । हुनतः केन्द्रिय र्बैकले सफा नोट नीति ल्याएको धेर्रै भइसकेको छ । तर, ब्यवहारमा भने हरेक पर्ष नै दसैं, तिहार तथा छठका लागि बजारमा पठाएका अर्बौ रुपैयाँका नयाँ नोट झुत्रा र पुराना भएर फर्कन्छन् । किनकि चाडबाडमा सतर्कताका साथ नयाँ नोट नचलाउँदा तथा फोहोर गर्दा, मन्दिरमा चढाउँदा दूध वा पानीले भिजाएका कारण नोट झुत्रा र पुराना हुने राष्ट्र बैंकले जनाएको छ । त्यसैले टिका लगाएर दक्षिणा दिँदा नोटमात्रै नदिई खाम लगाएर दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
यस्तै, नोटलाई नखुम्चिने गरी पर्समा राख्न, दक्षिणा दिँदा यताशक्य विद्युतीय माध्यम, कार्ड वा ई वालेटको प्रयोग गर्न तथा नोटमा टाँचा वा स्टिच नलगाउन पनि अनुरोध गरेको छ ।
नोटमा अबिर दल्ने, स्टिज लगाउने, लेख्ने, च्यात्ने र फोहोर गर्ने भएकाले नोटको आयु चाँडै सकिने तथा झुत्रो भई राष्ट्र बैंकले नोटलाई जलाउन बाध्य हुन्छ र नयाँ नोट छाप्दछ । नयाँ नोट छाप्नको लागि वर्षेनी करिब ३ अर्ब हाराहारी खर्च हुने गरेका कारण पनि नोटको सुरक्षा प्राथमिकतामा परेको राष्ट्र बैंकको भनाइ छ । त्यसैले नोटको आयु बढाउन राष्ट्र बैंकले सफा नोट नीति ल्याएको हो । जस अनुरुप नोटलाई नियतवश सफा नोट नीतिको विरुद्धमा गएर नोटको प्रयोग गरे जरिवाना सहित जेलसम्मको सजाय हुन्छ ।
हिफाजत गरेर नचलाएका कारण हाल नेपाली नोटहरुको सरदर आयु साढे ३ वर्षमात्रै छ । कार्ड र चेकको प्रयोग बढाउने हो भने नोटको आयु ५ देखि १० वर्षको हुने अनुमान राष्ट्र बैंकको रहेको छ । सफा नोट नीति अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छानेर राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिएको छ । जसअनुसार चलन चल्तीमा पठाउन नमिल्ने नोटहरुमा बैंकहरुले रातो ट्याग लगाएर राष्ट्र बैंकलाई पठाउनुपर्छ । र, त्यस्ता नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट पार्छ । तर, नोट झुत्रो भएर जलाउँदा समेत राष्ट्रको रकम खर्च हुन्छ ।
यसपटक दसैँमा नेपाल राष्ट्र बैकले असोज २५ गतेसम्म ५, १०, ५० र १०० दरका नोट तथा ५०० र १००० दरका ठुला नोटहरू सट्ने सुबिधा दिएको थियो थियो।

प्रतिक्रिया दिनुहोस्