साफ उपाधिका लागि नेपाल र भारतको भिडन्त शनिबार «

साफ उपाधिका लागि नेपाल र भारतको भिडन्त शनिबार

माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चीर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ ।
लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो । यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । खेलको ८ औँ मिनेटको अग्रतालाई ८८ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गर्दा नेपालले २८ वर्षमा पहिलो पटक फाइनलमा स्थान बनाउने मौका पाएको हो ।
मालेस्थित राष्ट्रिय रंगशालामा दुबै टोली सुखद नतिजाका लागि प्रतिस्पर्धा गरेका थिए । गर वा मरको अवस्थामा रहेका भारत तथा माल्दिभ्सका टोलीले आक्रामक खेल देखाउँदै फाइनल यात्रा तय गर्न चाहन्थे । सोही क्रममा सुरुवाती दुई खेलमा बराबरी खेल्दै दबावमा परेको भारतले माल्दिभ्सलाई सजिलै हराएर बंगलादेशसँग बराबरी खेलेको नेपालसँगको भेट पक्का गरेको हो ।
भारतको जितमा नेपाली मूलका खेलाडी भारतीय कप्तान सुनिल क्षेत्रीले दुई गोल गर्दा मानबिर सिंहको नाममा एक गोल रह्यो । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काएका थिए । रोमाञ्चक बनेको खेलको ३३ औँ मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा माल्दिभ्सका कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन् रोमाञ्चक बनेको दोस्रो हाफमा भारतले दबाव दिएर खेल्यो । कप्तान सुनिल चम्किए र खेलको ६२ औँ मिनेटमा उनले टोलीका लागि दोस्रो गोल थप्दा ७१ औँ मिनेटमा फेरि सुनिलले नै व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–१ को जित दिलाए । माल्दिभ्सविरुद्धको दुई गोलसँगै सुनिलले भारतका लागि ७९ औँ गोल पनि पूरा गरेका छन् ।
अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । फाइनल खेल शनिबार नेपाली समय अनुसार ८ः४५ बजे हुनेछ । भारत समूह विजेताको रुपमा फाइनल पुग्दा नेपाल भने उपविजेताको रुपमा अन्तिम दुईमा प्रवेश गरेको छ । साफको इतिहासमा नेपाल पहिलो पटक फुटबल फाइनल पुगेको हो भने सर्वाधिक सफल टोली भारतले ८ औँ उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको छ ।
यसैबिच, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताएका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइलरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको पनि बताए । उनले बुधवार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गरेका हुन् । उनले नेपालले फाइनल यात्रा तय गरेकोमा खुशी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताए ।
धेरै कुरा स्पष्ट नगरिकनै मुख्य प्रशिक्षक अल्मुताइरीले भने, ‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ, हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ, तपाईहरुले यस्तो बोलेर खुशी मिल्यो र ? म्याच फिक्सिङ गर्यो भनेर तपाईहरु खुशी हुनुहुन्छ, तपाईहरुलाई गर्व महशुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ, म नोकर होइन, कोच हूँ, आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ, म कहिल्यै नेपाल फर्किने छैन, पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ ।’
मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सबाट सिधा कुवेत फर्किने बताउँदै राजीनामा दिँदा आफू खुशी नरहेको पनि बताए । नेपाली फुटबलमा राजनीति धेरै पुरानो रोग हो । कुनै समय दक्षिण एसियाको फुटबलमा एक नंबरमा रहेको नेपाल हाल कुनै गर्व गर्न लायक स्थानमा छैन । ह्नत राजनीति नभएको कुनै पनि क्षेत्र तथा पेशा नेपालमा भेटिन मुश्किल छ । मुलुकका हरेक क्षेत्र तथा पेशामा बिचौलियाको विगविगी छ । अति दरिद्र सोच तथा दयनीय क्षमता भएकाहरु राजनीतिको आडमा विभिन्न संघ, संंस्था तथा पेशा कब्जा गर्ने र उक्त क्षेत्र तथा पेशालाई नै बदनाम गर्ने प्रचलन पछिल्ला वर्षमा नियमित नै छ । झन् नेपालको खेलकुद क्षेत्र त कुनै समय पंचायतका लठैत पाल्ने आखाडाका रुपमा पनि परिचित थियो । त्यसैले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रकरण नेपाली खेलकुदमा एउटा कालो धब्बाको रुपमा रहनेमा कुनै शंका नभएको नेपालको खेलकुदलाई लामो समयदेखि अवलोकन गरिरहेकाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्